क्यान्सर उपचारमा नेपालको ऐतिहासिक फड्को: स्वदेशमै सुरु हुँदै अत्याधुनिक ‘कार-टी सेल थेरापी’

प्रमिला कार्की
२१ जेठ २०८३ १३:२२

काठमाडौं। नेपालको क्यान्सर उपचार क्षेत्रमा एउटा ऐतिहासिक र क्रान्तिकारी फड्को मार्दै पहिलोपटक अत्याधुनिक ‘कार-टी सेल (CAR-T Cell) थेरापी’ सेवा सुरु हुने भएको छ।

विश्वमै क्यान्सर उपचारको क्षेत्रमा निकै प्रभावकारी मानिएको यो प्रविधि विशेषगरी ब्लड क्यान्सरका बिरामीका लागि स्थापित हुँदै गएको छ।

यो अत्याधुनिक सेवाको सुरुआतसँगै अब नेपाली बिरामीहरू उपचारका लागि भारत, चीन वा अन्य मुलुकहरू धाउनुपर्ने बाध्यताबाट मुक्त भई स्वदेशमै यो सुविधा पाउने भएका छन्। भक्तपुरको नाला रोडमा रहेको ‘काठमाडौं क्यान्सर सेन्टर’ ले यो अत्याधुनिक प्रविधि नेपालमा भित्र्याएको हो।

अस्पतालका एमडी क्लिनिकल ओन्कोलोजिस्ट डा. सिमित सापकोटाका अनुसार कार-टी सेल थेरापी क्यान्सर उपचारको क्षेत्रमा विकसित भएको पछिल्लो पुस्ताको व्यक्तिगत इम्युनोथेरापी हो।

यो प्रविधि परम्परागत किमोथेरापी, रेडियोथेरापी तथा सामान्य इम्युनोथेरापीभन्दा निकै फरक र अत्यन्तै लक्षित उपचार विधि हो। अहिलेसम्म क्यान्सर उपचारका मुख्य विधिका रूपमा शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी प्रयोग हुँदै आएकोमा कार-टी सेल थेरापीले भने बिरामीकै प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाएर क्यान्सरविरुद्ध प्रयोग गर्दछ।

यस प्रक्रियामा बिरामीको रगतबाट टी-सेल नामक प्रतिरक्षा कोष निकालिन्छ र विशेष जेनेटिक इन्जिनियरिङमार्फत ती कोषहरूलाई क्यान्सरका कोष पहिचान गरी नष्ट गर्न सक्ने गरी विकसित गरिन्छ। यसरी तयार पारिएका कोषहरू पुनः बिरामीको शरीरमा प्रविष्ट गराएपछि तिनले क्यान्सरविरुद्ध लड्ने काम गर्छन्।

हाल विश्वभर कार-टी सेल थेरापीले विशेषगरी बी-सेल लिम्फोमा र एक्युट बी-सेल ल्युकेमियाका बिरामीमा अत्यन्तै राम्रो नतिजा दिएको छ। यो पहिलो चरणको उपचार नभएर सामान्यतया किमोथेरापी वा अन्य उपचारपछि रोग पुनः फर्किएको अवस्थामा प्रयोग गरिन्छ।

रिल्याप्स वा रिफ्र्याक्टरी लिम्फोमा तथा ल्यूकेमियाका बिरामीमा यसको सफलता उल्लेखनीय रहेको र अन्तर्राष्ट्रिय अध्ययनहरूले यस्ता बिरामीमध्ये ६० देखि ७० प्रतिशतसम्ममा क्यान्सर पूर्ण रूपमा हराउने अवस्था देखाएका छन्。

यो उपचार प्रक्रिया अन्य सामान्य उपचारभन्दा केही जटिल र समय लाग्ने खालको हुन्छ। बिरामीको रगत सङ्कलन गरेपछि त्यसलाई विशेष प्रयोगशालामा पठाई टी-सेलहरूलाई जेनेटिक रूपमा परिमार्जन गर्न करिब तीन हप्ता लाग्छ।

यो अवधिमा बिरामीलाई आवश्यकतानुसार किमोथेरापीसमेत दिइन्छ। तयार पारिएका कार-टी सेलहरू पुनः शरीरमा प्रविष्ट गराएपछि सङ्क्रमणको जोखिम उच्च हुने भएकाले बिरामीलाई कम्तीमा १० देखि १४ दिनसम्म अस्पतालकै विशेष आइसोलेसन वार्डमा पूर्ण निगरानीमा राखेर उपचार गरिन्छ। प्रारम्भिक दुई सातापछि अवस्था सामान्य भएमा बिरामी घर फर्किन सक्छन् र नियमित फलोअपमार्फत स्वास्थ्य अवस्थाको निगरानी गरिन्छ।

कुनै पनि उपचारजस्तै कार-टी सेल थेरापीका पनि स्नायु प्रणालीसँग सम्बन्धित समस्या तथा ‘साइटोकाइन रिलिज सिन्ड्रोम’ जस्ता जटिलताका केही साइड इफेक्ट हुन सक्छन्।

तर पछिल्ला वर्षमा प्रविधि परिष्कृत हुँदै जाँदा नयाँ पुस्ताको कार-टी सेल थेरापीमा साइड इफेक्टहरू पहिलेको तुलनामा निकै कम छन् र सम्भावित जटिलता पहिचान र उपचारका लागि आवश्यक सम्पूर्ण तयारी अस्पतालमा उपलब्ध छ। अधिकांश साइड इफेक्ट उपचारपछिका पहिलो दुई साताभित्र देखिने र त्यस अवधिमा कुनै समस्या नदेखिए दीर्घकालीन जटिलता हुने सम्भावना न्यून हुन्छ।

कार–टी सेल थेरापी अहिले पनि विश्वका सीमित करिब २० देखि २५ देशमा मात्र उपलब्ध छ। दक्षिण एसियामा भारतबाहेक अन्यत्र यो सेवा उपलब्ध नभएको अवस्थामा नेपालमा यसको सुरुआत हुनु आफैँमा ठूलो उपलब्धि हो। सामान्यतया नयाँ चिकित्सा प्रविधि नेपाल आउन १०–१५ वर्ष लाग्ने भए पनि कार–टी सेल थेरापी अपेक्षाकृत छिटो नेपालमा भित्रिएको छ।

यो उपचार प्रभावकारी भए पनि अत्यन्तै महँगो मानिन्छ। अमेरिका र सिंगापुरमा यही उपचारका लागि करिब पाँच करोड रुपैयाँसम्म र भारतमा समेत यसको लागत ८० देखि ९० लाख रुपैयाँसम्म पुग्छ।

नेपालमा भने बिरामीको आर्थिक क्षमता ध्यानमा राख्दै ६० देखि ६५ लाख रुपैयाँको हाराहारीमा यो उपचार उपलब्ध गराउने व्यवस्था गरिएको छ। साथै प्रारम्भिक चरणका केही बिरामीलाई विशेष सहुलियतसहित ४० देखि ४५ लाख रुपैयाँमा समेत उपचार उपलब्ध गराउने तयारी अस्पतालको छ। नेपालमा यो सेवा सञ्चालन गर्न जर्मनी र भारतका विशेषज्ञ टोलीसँग प्राविधिक सहकार्य गरिएको छ।

नेपालमा क्यान्सरका बिरामीको संख्या निरन्तर बढिरहेको र विशेषगरी ४० वर्षभन्दा कम उमेरका युवा समूहमा क्यान्सरको दर अन्य धेरै मुलुकको तुलनामा उल्लेखनीय रूपमा बढी देखिएको भन्दै डा. सापकोटाले चिन्ता व्यक्त गरेका छन्।

धूम्रपान, मद्यपान, वातावरणीय प्रदूषण, अस्वस्थ जीवनशैली तथा खानपानका कारण क्यान्सरको जोखिम बढिरहेकाले यसको नियन्त्रणका लागि उपचार मात्र पर्याप्त नहुने र रोकथाम, स्क्रिनिङ, खोप कार्यक्रम, समयमै परीक्षण र आधुनिक उपचार प्रणालीलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ।

क्यान्सर उपचारको सम्पूर्ण भार सरकारी अस्पतालले मात्र थेग्न नसक्ने भएकाले सरकारी तथा निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याउँदै उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई पनि दीर्घकालीन रूपमा प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

नेपालमा कार-टी सेल थेरापीको सुरुआतलाई क्यान्सर उपचार क्षेत्रमा ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्दै यसले भविष्यमा हजारौँ नेपाली बिरामीलाई स्वदेशमै विश्वस्तरीय उपचार उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *