राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले बुधबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।
सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्याएको बताए।
उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका थिए।
उनले नेपाल र चीनबिच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबिचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment