नारायणीको बाढी बस्तीमा पस्यो
नवलपुर। नारायणी नदीको बाढी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो।
बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिए। यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताए। ‘यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ’, उनले भने, ‘बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ।’
बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताए।
यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ। नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ। नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ।
नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए। बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ। विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment