बिरिङ पुल भासिएपछि आवागमन बन्द
झापा। अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ नदीको पक्की पुल भासिएपछि आवागमन बन्द गरिएको छ। उक्त पुल पार गरी पश्चिमी इलाम जाने यातायातका साधनलाई नगरपालिकाले रुट परिवर्तन गरिदिएको छ।
झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडसँग पश्चिम इलामको विभिन्न पालिकालाई जोड्ने विर्तामोड–शनिश्चरे–दानाबारी मार्गमा पर्ने उक्त पुल १५ वर्षअघि निर्माण भएको थियो। दुई दिनदेखि परिरहेको वर्षा र बाढीले पुल भासिने, चर्किने क्रम बढेपछि सवारी साधन र मानिसको आवागमन बन्द गरिएको अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिइन्।
उक्त पुल गत वर्ष पनि बाढीका बेला भासिएको थियो । उपप्रमुख पराजुलीका अनुसार नदीमा बाढीको प्रवाह बढेपछि पुल भासिँदै गएको हो। ‘कुनै दुर्घटना नहोस् भनेर पुलमा यातायातका साधन र मानिसको आवागमन हाललाई बन्द गरेका छौँ’, उनले भनिन्।
झापाको पुरानो व्यापारिक केन्द्र शनिश्चरेलाई खुदुनाबारीसँग सीधा जोड्ने उक्त पुलमा आवागमन बन्द गरिएपछि सवारी चालकहरु केही दुरी घुमेर अर्जुनधारा धाम र सिस्नेको अर्को रुटबाट सवारी साधन गुडाउन बाध्य भएका छन्। स्थानीय दिपीन राईले बिरिङ नदीमा नयाँ पुल निर्माण गरिनुपर्ने बताए। उनले जीर्ण भइसकेका उक्त पुल बर्सेनि भासिने गरेको देख्दादेख्दै पनि पुनःनिर्माणमा सरकारको ध्यान नगएको गुनासो गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment