किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं। प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ। यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या एक सय ८३ पुगेको छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरे।
साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे।
त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गरेको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसंख्याएक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो। नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment