उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल

डिसी नेपाल
२६ भदौ २०८१ २०:१४
32
Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन्।

उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका विषयमा छलफल गरेको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए। सो क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन्।

चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भने, ‘नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलता छैन, नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधिलगायत क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु, लगानी सुरक्षित बनाउने जिम्मा नेपाल सरकारको हो।’

यस्तै मन्त्री भण्डारीले चीन सरकारको लगानीमा काभ्रेको पाँचखालमा उद्योग सञ्चालनको तयारी भइरहेको जानकारी गराउँदै लगानीकर्तालाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए। साथै नेपालमा व्यवसाय सञ्चालन गरेमा आइपर्ने जुनसुकै समस्या समाधान गर्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा हेहेहुयी आर्थिक तथा सांस्कृतिक आदानप्रदान केन्द्रका अध्यक्ष यीन लिउबिङले चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए।

यस्तै मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्या नरहेकाले यहाँको उद्योग क्षेत्रमा ढुक्क साथ लगानी गर्न आग्रह गरे। उनले नेपालमा कम्पनी दर्ता निःशुल्क रूपमा अनलाइनबाटै प्रक्रिया सुरू भइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *