वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी
मोरङ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताएका छन्।
नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताए। “दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,” उनले भने।
पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका नेता खड्काले पार्टी संगठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले पाठ सिक्नुपर्ने बताए।
मन्त्री खड्काले कोशी प्रदेशबाट कांग्रेसको प्रतिनिधित्व गरी आफू मन्त्री बनाएकाले यो प्रदेशप्रति जिम्मेवार बोध हुनेगरी काम गर्ने उल्लेख गरे। उनले संस्थागत रूपमा विकास योजनाका काम ल्याउनसमेत पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।
ऊर्जामन्त्री खड्काले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताए। सुशासनलाई केन्द्रमा राखेर मन्त्रालयले काम गरिरहेको उनले बताए।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले कांग्रेस सरकारमा सहभागी भएको अनुभूत जनतालाई हुनेगरी काम गर्न आग्रह गरे। उनले पार्टीसँग समन्वय गरेर ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताए।
कोशी प्रदेशका सांसद गयानन्द मण्डलले सिँचाइको व्यवस्था ‘इलेक्टिक बोरिङ’बाट गर्न आग्रह गरे। उनले सिँचाइमा विद्युतीकरण गर्न सके मुलुकको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने बताए।
बूढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले बूढीखोला बाढी नियन्त्रणका लागि तटबन्धनको व्यवस्था गर्न माग गर्नुभयो ।







डिसी नेपाल







Facebook Comment