सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत

डिसी नेपाल
३१ भदौ २०८१ १४:४८
264
Shares

काठमाडाैं। सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको अन्तिम प्रतिवेदनमा सवै सदस्यहरुले हस्ताक्षर गरेका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको अन्तिम बैठकमा प्रतिवेदनमा रहेका भाषालाई मिलाएसँगै सवै सदस्यहरुले हस्ताक्षर गरेका हुन्।

समिति संयोजक सूर्य थापाले निष्पक्ष रुपमा अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको उल्लेख गरे। पार्टीगत स्वार्थभन्दा मागि उठेर सहकारी प्रकरणमा छानविन गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको उनले बताए। समितिले ६६ वटा बैठकबाट तथ्य केलाउने काम गर्दै दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको उनको भनाइ छ।

प्रतिवेदनमा सहकारीबाट ऋण लिदा रास्वपा सभापति रवि लामिछानेको कुनै संलग्नता नदेखिएको तर गोर्खा मिडियामा खर्च गर्ने क्रममा भने संलग्नता देखिएको उल्लेख गरिएको समिति सदस्य एवं माओवादी सांसद लेखनाथ दाहालले बताए। सहकारीबाट अपचलन गरिएको रकम खर्च गर्ने काम पनि दूरुपयोग हो भन्ने ठहर रहेको उनको भनाइ छ।

त्यस्तै समिति सदस्य एवं रास्वपा सांसद शिशिर खनालले सहकारीबाट पैसा लाने भूमिकामा रवि लामिछाने नदेखिएको बताए। गोर्खा मिडियामा काम गर्दा कानुनी उत्तरदायित्व वहन गर्नुपर्ने कुरामा जोड दिइएको उनले बताए।

लामो छानविनका क्रममा समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले जेठ १५ गते छानविन समिति गठन गरेको थियो। समितिको तीनमहिनाको समयअवधि भदौ २३ गते सकिएपनि सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको थियो । थप गरेको अन्तिम समय अगावै समितिले अन्तिम प्रतिवेदन तयार गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *