थापाद्वारा लिखित ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण
काठमाडौं। लेखक कार्ल बिक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको छ।
बिहीबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको हो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)कि केन्द्रीय सदस्य कल्पना धमला लगायतले सो पुस्तक सामुहिक रुपमा लोर्कापण गरेका थिए।
पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि नेपाली राजदूत शंकर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्रा.डा. सुरेन्द्र केसीले टिप्पणी गरेका थिए।
पुस्तकमा अमेरिकी झन्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको संक्षिप्त इतिहास र अमेरिकामा रहेका जनजातिहरुको बारेमा उल्लेख गरिएको छ। त्यसैगरी ब्रिटिश शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दासप्रथा र स्वतन्त्रता भुमि आन्दोलनको विषयमा पनि लेखिएको छ।
पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरु लगायतका विभिन्न विषयहरुलाई समेटिएको छ। त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरुलाई पुस्तकमा उतारिएको छ।
लेखक स्वयम्ले प्रकाशन गरेको ७१६ पृष्ठको पुस्तकको मूल्य १ हजार १५० रुपैयाँ तोकिएको छ। लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरुले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि सो पुस्तक उपयोगी हुने बताएका छन्।
लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा र पक्षहरुका बारेमा जानकारी गराउन मद्दत गर्ने बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment