मिथिलाञ्चलमा छठको रौनक

डिसी नेपाल
२० कार्तिक २०८१ १३:५९
32
Shares

सिरहा। मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ। छठपर्वको आज मंलवार पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएर छठपर्वको शुरुवात गरेको हो।

कात्र्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधिबाट सुरु गरिन्छ। शुक्रबारसम्म मनाइने छठ पर्वको तयारी सिरहा सहित तराईका जिल्लाहरुमा जोरतोरले चलिरहेका छन्।

मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका छन्। पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय-खाय’ भनिन्छ। पर्वको दोस्रो दिन बुधवार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने व्रतालु शिवो देवी यादवले बताइन्।

त्यस्तै, बिहीबार संध्याकालीन र शनिबार प्रभातकालिन सुर्यको अर्घदिएपछि चार दिवसीय छठ पर्व बिधिवत रुपमा समापन हुनेछ। पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई-ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ। त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व बिधिबत रुपमा सम्पन्न हुन्छ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी-जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ।

निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने स्थानिय पण्डित अरुण झाले बताए। उनले भने, ‘आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ।’

मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरु मनमोहक ढङ्गले सिङ्गारिने क्रम चलिरहेका छन्। जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको छ। छठ पर्व सुरुवात संगै टोल टोलमा छठको गीतहरु गुञ्जिरहेकोले मिथिला क्षेत्र छठमय बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *