कमलादीको कलभर्ट उद्घाटन : यातायात आवागमन बन्यो सहज

डिसी नेपाल
३ पुष २०८१ ९:५३
100
Shares

काठमाडौं। काठमाडौंको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा आजबाट यातायात आवागमन सहज बनेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरेसँगै यातायातको आवागमन सुचारु गरिएको हो।

११ मिटर लामो उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौंको व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो।

व्यस्त र जरुरी महत्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले जानकारी दिए।

काठमाडौ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो। त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरि विस्तृत अध्ययन गराएको थियो।

प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए। त्यस लगत्तै मन्त्री देवेन्द्र दाहाल सहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो।

मन्त्री दाहालको निर्देशन पश्चात पुन साउन २८ गते विज्ञहरुले निरीक्षण गरि भोलिपल्टनै लागत अनुमान तयार पारि स्वीकृत गरिएको थियो। सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो।

तर, ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो। सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम शुरु भएको थियो।

राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो। जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रकृयाले पनि निर्माण कार्यमा केहि ढिलाई भएको थियो । तर, कातिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो।

बेमौसमी बाढी, दशैं, पुरातत्व विभागसँग सहमति लिनु पर्ने प्रकृया लगायतका चुनौती बीच पनि निर्धारित समय भन्दा अघिनै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *