विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

डिसी नेपाल
२४ साउन २०८३ ६:४१

काठमाडौं। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ।

सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा बसेकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। यो सङ्ख्या विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिब समुदायमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी जनजातिकै रहेको छ। विश्वभर बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा आदिवासी समुदायले नै बोल्छन् भने करिब पाँच हजार फरक संस्कृतिको प्रतिनिधित्व उनीहरूबाटै हुँदै आएको छ।

आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै मौलिक ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समाजभन्दा फरक छ।

आफ्नो पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा अधिकार उल्लङ्घन भएको र आज पनि आदिवासी जनजाति विश्वकै सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये पर्ने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

आदिवासी जनजातिको अधिकार संरक्षण र उनीहरूको विशिष्ट संस्कृति तथा जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ। यस दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, संस्कृति, भाषा, परम्परागत ज्ञान तथा प्राकृतिक स्रोतसँगको सम्बन्धको संरक्षणका साथै निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितामा जोड दिने गरिन्छ।

यो दिवसले विश्वभरका आदिवासी जनजातिको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यानाकर्षण गराउँदै अधिकार तथा सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबद्ध हुन आह्वान गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *