नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो
कास्की। केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन्। पहिराेले नयाँपुल–घान्द्रुक सडकखण्ड अवरुद्ध बनेको छ। यस सडकखण्डअन्तर्गत अन्नपूर्ण–१० मा यही २१ साउन राति सिवौँ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए।
‘खोलाले सडकको बेस सबै बगाएको छ। अप्ठ्यारो भूगोलका कारणले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। जिल्ला प्रशासनसँग छलफलमै छौँ, कसरी सडक सञ्चालन गर्ने भनेर प्राविधिक अध्ययन भइरहेको छ,’ गुरुङले भने।
बाटो अवरुद्ध भएपछि घान्द्रुक आउजाउ गर्ने स्थानीयवासी र पर्यटकलाई समस्या परेको छ। सडक अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गे पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने अस्थायी प्रबन्ध गरिएको प्रवक्ता गुरुङले बताए। घान्द्रुक अन्नपूर्ण आधार शिविरको प्रवेशद्वारसमेत हो।
यसैगरी, कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका–१ सिक्लेस जाने सडक भने तीन दिनपछि सञ्चालनमा आएको छ। यही २० साउनमा राति काहुँखोला–सिक्लेस सडकखण्डमा पर्ने खिलाङ र चिप्लीको बीचमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएकामा आज साँझदेखि बाटो सञ्चालन भएको मादी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीजंग गुरुङले जानकारी दिए।
‘जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा दुई दिनको प्रयासपछि सडक खुलेको छ,’ वडाध्यक्ष गुरुङले भने।
सडक डिभिजन कार्यालयले पोखराको काहुँखोलादेखी सिक्लेसम्म अहिले सडक स्तरोन्नतिको कामसमेत गर्दै आएको छ। सडक पहिराेले अवरुद्ध भएपछि स्थानीयवासी र पर्यटक समस्यामा परेका थिए।
सिक्लेस ग्रामीण पर्यटनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात छ। बर्खायामका कारणले सिक्लेसमा हाल पर्यटक आगमन कम रहे पनि सार्वजनिक बिदामा भने आन्तरिक पर्यटक उल्लेख्य पुग्ने गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment