सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा

डिसी नेपाल
१८ पुष २०८१ १६:५१
60
Shares

पाटन (ललितपुर)। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजनामा सर्वाधिक राशिको सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ।

महाधिवेशन निर्देशक समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी आगामी माघ १० देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुने जानकारी गराएको हो।

प्रतियोगिताको प्रथम पुरस्कार नगद रु २६ लाख र दोस्रो पुरस्कार नगद १३ लाख रहेको महाधिवेशन निर्देशन समिति २०८१ का संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए।

दशरथ रंगशाला त्रिपपुरेश्वरमा हुने प्रतियोगितामा राष्ट्रिस्तरका ‘ए’ डिभिजन क्लब र आमन्त्रित विदेशी दुई टोली सहभागी हुने जनाइएको छ। प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घले प्राविधिक सहयोग उपलब्ध गराउने छ। संयोजक बस्नेतले राज्यले खेलाडीहरुको क्षमताअनुसार प्रतिभा प्रस्फुटन र उनीहरुको क्षमता अभिवृद्धिका लागि बजेट छुट्याउन नसकेकाले सरकारलाई दबाब दिन प्रतियोगिता आयोजना गरिएको बताए।

त्यसैगरी लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको बैठकले नयाँ खेलकुद विकास ऐन २०७७ सहित नेपाल ओलम्पिक विवादबारे सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ। मुलुकको हितमा योगदान गर्नुभएका ३६ जना स्वर्गीय नेता तथा सहिदहरुको सम्मानमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले देशैभर खेलकुद सञ्चालन गर्ने जनाएको छ।

प्रतियोगिताका लागि व्यावसायिक घरानाबाट प्राप्त हुने विज्ञापन, टिकट बिक्रीबाट प्राप्त हुने रकम र पार्टीका नेता तथा शुभेच्छुकबाट प्राप्त हुने रकम खर्च गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा रु एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *