‘महिला क्रिकेटको विकास प्राथमिकतामा’
बैतडी। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले महिला क्रिकेटको विकास प्राथमिकतामा रहेको बताएका छन्।
बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा आजदेखि सुरू भएको प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष चन्दले महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकता राखेको बताए।
अध्यक्ष चन्दले भने, ‘महिला क्रिकेटको विकासलाई पनि नेपाल क्रिकेट संघले प्राथमिकतामा राखेको छ। महिला खेलाडीलाई पनि तलब दिने र उनीहरूको क्षमता अभिवृद्धि हुने खालले प्रतियोगिता आयोजना गरिरहेका छौँ।’
पुरूष क्रिकेट मल्टी डे फरम्याटमा गइरहेको बताउँदै अध्यक्ष चन्दले महिला क्रिकेटलाई पनि वानडे फरम्याटमा लैजाने तयारी रहेको बताए। उनले भने, ‘नेपाली क्रिकेटमा सुदूरपश्चिमको ठूलो योगदान छ। यहाँ पूर्वाधारको अभाव छ। सरकारले यसमा ध्यान दिन जरूरी छ।’ लामो समयसम्म क्रिकेट खेलेका खेलाडीलाई सन्यासपश्चात् प्रशिक्षक र अम्पायर तालिम दिने काम क्यानले गरिरहेको छ।
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले क्रिकेटको माध्यमबाट नेपाल विश्वमा चिनिएको बताए। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले क्रिकेटमा लागेका खेलाडीलाई क्षमता अभिवृद्धि र उमेर समूहका प्रतियोगितालाई प्राथमिकतामा राखिएको बताए। आजदेखि सुरू भएको प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment