नेपाल कबड्डी लिगलाई ७५ लाखको प्रायोजन

डिसी नेपाल
२ माघ २०८१ २२:०७
88
Shares

काठमाडौं। एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) का लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ। फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ। नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा आगामी शुक्रबार सुरु हुँदैछ।

जहाँ छ सहरका छ वटा टिमले राउन्ड रोबिन लिग र नकआउट चरण गरी यही माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्। यसै प्रतियोगिताको टाइटल स्पोन्सरको सम्झौता एक कार्यक्रमबीच आज भयो। टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानी र केबी सामका मार्केटिङ एन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे।

एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलका लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो। सम्झौताअनुसार केबी सामले वार्षिक रु ७५ लाख एनकेएललाई दिनेछ। यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट, सहिद स्मारक ‘ए’ डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबैभन्दा ठूलो प्रायोजन हो। वीरगञ्जमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख बेगानीले भने, ‘यो पहिलो वर्ष लगानीको वर्ष हो। नेपालमा २५-३० हजारले कबड्डी खेल्छन्। हामीसँग उच्चस्तरका खेलाडी छन्। यसले नेपालमा कबड्डीको राम्रो सम्भावना देखाउँछ। यसैका लागि केबी सामले साथ दिएको हो।’

केबी सामका मार्केटिङ एन्ड सेल्स प्रमुख रुपेश थापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ। कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवर्द्धनमा पनि साथ दिनेछ। त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *