संविधानले राष्ट्रिय हित र आवश्यकतालाई सम्बोधन गरेको छ : प्रधानमन्त्री ओली

डिसी नेपाल
४ भदौ २०७६ ११:४६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उनले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका हुन्।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहना पूरा हुन नसकेको उल्लेख गर्दै उनले जिद्दि र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे। उनले भने, ‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ। जिद्दिहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ। यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो।’

उनले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिए।

जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सीमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उनले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन दिए।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेका चर्चा परिचर्चा खण्डन गर्दै विरोधीलाई चुनौतीपूर्ण जवाफ दिए। विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिए। उनले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष गरे।

उनले भने, ‘अचम्म लाग्छ! विरोधीहरु कति कमजोर भएछन् उ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन। मरिहाले देखि हुन्थ्यो भन्छन्। मलाइ यस्ता प्रवृत्तिसँग केही भन्नु छैन। मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु। आउँदो चुनाव टफ हुनेछ। अस्तित्व रक्षाको लडाइँ अहिलेदेखि नै सुरु गरे हुन्छ। यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरि निरास होलान् भनेर। अझै १५ वर्ष अखडामा हुन्छु। त्यसकारण पूजा अर्चना, प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ।’

केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार फेरि उपचारका लागि नै सिंगापुर जाँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *