थाइल्याण्डले नेदरल्याण्ड्सलाई हरायो
काठमाडौं। राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो। नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डी लिडेले सर्वाधिक २५ रन जोडिन्। आइरिस विलिङले १३ रन जोडिन्। यस्तै, क्यारोलिन डी ल्यान्जले १० रन बनाइन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्याण्डले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ८६ रनको योगफल बनाएको थियो। थाइल्यान्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन्। फन्नीता मायाले १२ रन जोडिन्।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङ, इभा लिच, सिल्भर सिर्गेसले समान दुई–दुई विकेट लिए भने इसा बेल भान डरले एक विकेट लिइन्। नेदरल्याण्ड्सले थाइल्याण्डसँग लगातार दोस्रो हार व्यहोरेको हो। यसअघि नेदरल्याण्ड्समाथि पहिलो भेटमा थाइल्याण्डले आठ विकेटको सानदार जित हासिल गरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment