चार विद्यार्थीको गालामा तातो पन्यूले डाम्ने शिक्षिका पक्राउ
काठमाडौं । तातो पन्यूले विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको छ। भिमाद नगरपालिकास्थित प्रभात एकेडेमी (बोर्डिङ स्कुल) की शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
कक्षामा होहल्ला गरेको भन्दै उनले बुधबार चारमा अध्यनरत चार जना विद्यार्थीलाई पन्यू तताएर गालामा डामेकी थिइन्। शिक्षिकाले आफूलाई विद्यार्थीले काली भनेको आक्रोशमा पन्यूले डामेको बताएको प्रहरीले जनाएको छ।
पन्यू तताएर डाम्दा कक्षा ४ मा अध्ययनरत १० वर्षीय एक बालकको गालामा गहिरो घाउ भएको प्रहरीले जानकारी दिएको छ। अन्य तीन जना विद्यार्थीलाई पनि त्यसैगरि डामे पनि धेरै चोट नलागेको बताइएको छ।
कक्षा सातसम्म पढाइ हुने उक्त स्कुलका सञ्चालक कृष्ण श्रेष्ठ हुन्। पक्राउ परेकी सुष्मा उनकी छोरी भएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment