नेसपा नयाँ शक्तिका नवनिर्वाचित अध्यक्ष डा भट्टराईद्वारा शपथ ग्रहण

डिसी नेपाल
१ फागुन २०८१ २१:१४
844
Shares

काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नवनिर्वाचित अध्यक्ष डा बाबुराम भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन्। महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो।

पार्टी अध्यक्ष डा भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरे। उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन्। मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताए। आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उनले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताए। यही फागुन १० गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *