भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने जसपा नेपाल र लोसपाको निर्णयपछि देउवा छलफलमा

डिसी नेपाल
२ फागुन २०८१ १२:५७
3.8k
Shares

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने निर्णयपछि सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन्।

जसपाले सरकारलाई समर्थन गरे पनि सत्तामा छैन। लोसपा भने सरकारमै सामेल छ। सरकारमै सामेल दल लोसपासँग राष्ट्रिय सभामा एक सिट भने जसपा नेपालसँग तीन सिट छ। यदि जसपा नेपाल र लोसपाले साथ नदिएमा सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पारित हुने छैन।

जसले गर्दा प्रधानमन्त्री केपी ओलीसहित कांग्रेस पनि नैतिक संकटमा पर्ने छ। यसै विषयमा छलफल गर्न गत १४औं महाधिवेशनमा आफूलाई सभापति निर्वाचित गराउन भूमिका खेलेका नेताहरुसँग देउवा निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, डा.प्रकाशशरण महतलगायतका नेताहरु सहभागी भएको नेताहरुको भनाइ छ। कांग्रेसमै पनि भूमिसम्बन्धी अध्यादेशका विषयमा फरक फरक मत भएकाले देउवाले नेताहरूसँग छलफल थालेका हुन्।

तर प्रधानमन्त्री केपी ओलीले भने सबै अध्यादेश दुवै सदनबाट स्वीकृत हुने दाबी गरेका छन्। बिहीबार राति साढे १ बजे एमाले बागमती प्रदेशका इन्चार्ज राजन भट्टराईसहित विभिन्न जिल्लाका इन्चार्जहरूले भेटेका थिए। प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी अध्यादेशसहित ६ वटै दुवै सदनबाट पारित हुने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *