एमालेकी जिल्ला कमिटी सदस्य नक्कली नागरिकता लिएको आरोपमा दोषी ठहर
काठमाडौं । नेकपा एमालेकी जिल्ला कमिटी इलामकी सदस्य युवन्तिका तामाङ भनेर चिनिन खोजेकी युवन्तिका राई झुटो विवरण पेश गरेर नक्कली नागरिकता लिएको कसुरमा दोषी ठहर भएकी छिन् । चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलले मंगलबार उनलाई दोषी ठहर गरेका हुन् ।
राई दोषी ठहरिएसँगै न्यायाधीशले उनलाई सजाय सुनाउनको लागि अर्को पेशी तोकेका छन् । अबको सुनुवाइमा उनीविरुद्ध सजाय निर्धारण हुनेछ । आफूलाई बुवाको रुपमा पेश गरेर युवन्तिकाले नक्कली नागरिकता बनाएको तर उनी आफ्नी छोरी नभएको दावीसहित चितवनका छविलाल तामाङले मुद्दा दायर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नजिकमा पटक–पटक देखिएकी उनलाई एमालेले नै संरक्षण गरेको आरोप लाग्दै आएको थियो । उनी एमालेका प्रभावशाली नेता तथा पूर्व सभामुख सुवास नेम्वाङको परिवारको पनि निकट रहेको बताइन्छ ।
नेम्वाङको निधनपछि भएको इलाम १ को उपनिर्वाचनमा नेम्वाङकै छोरा सुहाङ एमालेका उम्मेदवार बनेपछि युवन्तिकाले उनको प्रचारप्रसार समेत गरेकी थिइन् । सुहाङको चुनावी सभामा एमाले अध्यक्ष ओली पनि पुगेका थिए र युवन्तिका ओलीकै अगाडि नाचेकी थिइन् ।
नक्कली नागरिकताकै आधारमा पर्वतारोहणको इजाजतपत्र लिएकी युवन्तिकाले सगरमाथा आरोहण पनि गरेकी थिइन् । त्यसपछि उनलाई इलाम क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले २०७९ को मंसिर अन्तिम साता सम्मान समेत गरेका थिए ।
मुद्दा विचाराधीन भएकै अवस्थामा गएको जेठमा भएको नेकपा एमाले इलामको अधिवेशनमा युवन्तिका आदिवासी जनजाति महिला कोटाबाट एकालेको जिल्ला कमिटी सदस्यमा समेत निर्वाचित भइसकेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment