वैशाखदेखि देशभर सवारी चालक अनुमतिपत्र छपाइ हुने

डिसी नेपाल
२० फागुन २०८१ १७:२१
444
Shares

काठमाडौं । आगामी वैशाखदेखि सवै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने भएको छ ।

मंगलबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सवै प्रदेशका यातायातमन्त्रीसहितको विषयगत बैठकले यातायात व्यवस्था विभागबाट हालसम्म छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्रको छपाइ गर्ने र २०८२ वैशाख १ गतेदेखि साउन १ गतेसम्म सवै प्रदेशले स्वीकृत ढाँचा बमोजिम सवारी चालक अनुमतिपत्रको छपाइ कार्य प्रारम्भ गर्ने निर्णय गरेको हो।

यसका लागि आवश्यक प्राविधिक सहायता विभागले उपलब्ध गराउने निर्णय भएको छ। राइड शेयरिङलाई व्यवस्थीत गर्न र प्रदेशबीच नीतिगत एकरुपता कायम गर्नका लागि प्रदेश सरकारको सहभागीतामा संघीय सरकारले नीतिगत व्यवस्था गर्ने र सम्बन्धीत प्रदेशले लागू गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिए।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायातका विभिन्न सेवालाई राष्ट्रिय परिचयपत्रसँग जोड्न सकिए बायोमेट्रीकका देखिएको समस्या समाधान हुनसक्ने बताए।

उनले अझैँ पनि १९ लाख सवारी चालक अनुमतिपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा प्रदेशबाट छपाइ सुरु गर्न सके सहज रुपमा वितरण गर्न सकिने जिकिर गरे।

त्यस्तै बैठकले सवारी साधनहरुको दर्ता र नामसारी गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्वर प्लेट जडान गर्ने व्यवस्थाका लागि प्रदेश सरकारबाट मातहतका कार्यालयलाई आवश्यक निर्देशन दिने र विभागले आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *