जाजरकोट पहिरो : १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर

डिसी नेपाल
६ भदौ २०८३ १०:५०

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट विस्थापित भएका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरेर राखिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) को प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार अस्थायी सेल्टर निर्माणका लागि आवश्यक जग्गाको भाडा भेरी नगरपालिकाले बेहोर्नेछ । स्थानीय तह, प्रशासन र प्राधिकरणको समन्वयमा सुरक्षित स्थान छनोट गरिएको हो ।

यसअघि जोखिममा रहेका करिब ६०–७० घरपरिवारका दुई सयभन्दा बढी नागरिकलाई त्रिभुवन आधारभूत विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको थियो । उनीहरूलाई पनि क्रमशः नयाँ सेल्टरमा सारिनेछ । शनिबारदेखि त्रिपाल, प्लास्टिक र टेन्ट प्रयोग गरी तत्काल बस्न मिल्ने संरचना निर्माण सुरु गर्ने तयारी गरिएको छ ।

रिसाङमा गएको पहिरोमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । पहिरोले २०८० सालको भूकम्पबाट कमजोर बनेको बस्तीलाई थप जोखिममा पारेपछि अधिकांश परिवार पुनः विस्थापित भएका छन् । एनडिआरआरएमएका संयोजक सुरेश सुनारले जोखिम मूल्याङ्कनको अध्ययन अझै जारी रहेको र अन्तिम प्रतिवेदनपछि थप व्यवस्थापनका विषयमा निर्णय हुने बताए ।

जुनीचाँदेका बस्ती अझै सम्पर्कविहीन

जुनीचाँदे गाउँपालिका–६ का सिर्प, डुर्मा र छिर्कलगायत बस्ती बाढी र पहिरोका कारण अझै प्रभावकारी रूपमा सम्पर्कविहीन छन् । सिर्क र सेती खोलामा आएको बाढीले सडक र पैदलमार्ग अवरुद्ध हुँदा खाद्यान्न, औषधि र राहत सामग्री पु¥याउन कठिन भएको छ ।

गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार डुर्मा र छिर्कमा मात्रै एक सयभन्दा बढी घरधुरी प्रभावित भएका छन् भने बाढीले २० भन्दा बढी घर र घट्ट बगाएको छ । प्रतिनिधिसभा सदस्य खड्गबहादुर बुढाले तत्काल राहत पु¥याउन केही स्थानमा हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था रहेको बताए ।

राहत र खानेपानीमा चुनौती

सडक बग्नु र पहिरोले बाटो बन्द भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी पैदल हिँडेर राहत सामग्री प्रभावित बस्तीमा पुर्याइरहेका छन् । यसैबीच, लगातारको वर्षाले जिल्ला सदरमुकाम खलंगामा पनि खानेपानीका मुहान र पाइपलाइनमा क्षति पुगेपछि नियमित आपूर्ति प्रभावित भएको छ ।

स्थानीय प्रशासनले सडक र खानेपानी पूर्वाधार पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *