भोटेकोशी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार एक लाख रुपैयाँ दिने!

डिसी नेपाल
२१ असोज २०८३ ८:४२
8
Shares

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ। बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न तथा पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रेडक्रसले उक्त आर्थिक सहायता प्रदान गर्न लागेको हो।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले गत साता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा प्रभावित परिवारलाई नगद सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।

नेपाल रेडक्रसले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको ‘समुन्नति कार्यक्रम’मार्फत उक्त सहायता उपलब्ध गराउनेछ। यसका लागि मन्त्रालय र नेपाल रेडक्रसबीच सहकार्यसम्बन्धी सम्झौतासमेत भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनाल र आईएफआरसी नेपाल प्रमुख डेभिड फिसरको समेत उपस्थिति थियो।

सम्झौताअनुसार रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता प्रदान गरिनेछ। रेडक्रसका महामन्त्री खनालका अनुसार बाढीबाट प्रभावित झन्डै ६ हजार परिवारलाई सहायता उपलब्ध गराउने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्रभावित व्यक्तिहरूको तथ्यांक प्राप्त भएपछि आवश्यक प्रमाणीकरण गरी लाभग्राही पहिचान गरिनेछ। त्यसपछि सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिने रेडक्रसले जनाएको छ। यसबाट सहायता वितरणलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

लाभग्राहीले प्राप्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायत आफ्ना प्राथमिक आवश्यकतामा खर्च गर्न सक्नेछन्।

रेडक्रसले सहायता वितरणमा विशेष जोखिममा रहेका परिवारलाई प्राथमिकता दिने जनाएको छ। महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा अन्य विशेष आवश्यकता भएका व्यक्ति र परिवारलाई प्राथमिकतामा राखिनेछ।

सम्झौताअनुसार मन्त्रालयले नीतिगत निर्देशन, कार्यक्रमको अनुगमन तथा समन्वय गर्नेछ। सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान, प्रमाणीकरण तथा स्थानीय समन्वयमा सहयोग गर्नेछन् भने नेपाल रेडक्रसले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन र जवाफदेहितासम्बन्धी काम गर्नेछ।

यसैबीच, नेपाल रेडक्रसले रसुवा–भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि सुरु गरेको मानवीय सहायता अझै जारी रहेको जनाएको छ। बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै सहायता जारी राखिएको रेडक्रसले जनाएको हो।

आईएफआरसी नेपाल प्रमुख डेभिड फिसरले बाढीपछि नेपाल रेडक्रसका स्वयंसेवकले गरेको काम प्रशंसनीय रहेको बताए। उनले बाढी प्रतिकार्यका लागि आईएफआरसीले गरेको आर्थिक सहयोगको अपिलअनुसार सहयोग प्राप्त भइरहेको र प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि निरन्तर सञ्चालन हुने जानकारी दिए।

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउनुका साथै बेपत्ता व्यक्तिका परिवारको खोजी तथा सहायताका लागि नेपाल रेडक्रससँग सहकार्य भइरहेको बताए।

रेडक्रसले आगामी तीन महिनाका लागि तत्काल गर्नुपर्ने कामको योजनासमेत तयार गरेको छ। प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैङ्गिक समानता र समावेशीकरणलगायत क्षेत्रमा सहायता निरन्तर जारी राखिने जनाएको छ।

‘समुन्नति कार्यक्रम’मार्फत महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्करणमा परेका समूह, विपद् प्रभावित तथा विशेष आवश्यकता र जोखिममा रहेका व्यक्ति तथा परिवारलाई लक्षित गरी सहायता उपलब्ध गराइँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *