बजेटको पूर्वसन्ध्यामा सहरी विकास मन्त्रालयले सम्झियो स्थानीय तहका जनप्रतिनिधि
भन्छन्- अरु मन्त्रीहरूले पनि सिकुन्
काठमाडौं । सरकार अहिले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि जुटिसकेको छ। बजेटमा योजना माग्नका लागि पालिका प्रमुख विभिन्न मन्त्रालय धाइरहेका छन्।
अहिले सबैजसो मन्त्रालयमा योजना माग गर्नेको घुइँचो देख्न सकिन्छ। सहरी विकास मन्त्रालयले भने बजेट निर्माणको पूर्वसन्ध्यामा स्थानीय तहका जनप्रतिनिधिसँग पटक/पटक छलफल गरिसकेको छ।
मंगलबार २ सय ९३ पालिकाका प्रमुख र उपप्रमुखलाई एकै ठाउँमा राखेर आउँदो बजेटमा स्थानीय सरकारको प्राथमिकता र पालिकाको पूर्वाधार विकासमा नगर विकास कोषसँगको सहकार्यका क्षेत्रकाबारे छलफल भयो।
छलफलपछि उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको नजिकको सरकार स्थानीय तहका जनप्रतिनिधिबाट आएका सुझावले आगामी बजेट निर्माणलाई ठिक ढंगले अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले देशको विकासका लागि संघीय र स्थानीय सरकारबीच योजना निर्माणकै तहदेखि सहकार्य हुनुपर्नेमा जोड दिँदै आफूले निरन्तर स्थानीय तहका प्रतिनिधिसँग संवाद गरिरहेको बताए।
‘यो छलफलले आगामी दिनमा संघीयता बलियो बनाउन र विकासको काममा तीनै तहको सरकारबीचको समन्वय राम्रो बनाउने विश्वास लिएको छु,’ उपप्रधानमन्त्री सिंहले भने। उपप्रधानमन्त्री सिंहले यसअघि उपत्यकामा रहेका सबै पालिकाका प्रमुख, उपप्रमुखसँग उपत्यकालाई कसरी सुन्दर बनाउने भन्नेबारेमा पटक/पटक छलफल गरिसकेका थिए।
सिंहले बजेट निर्माणका क्रममा जनप्रतिनिधिसँगको छलफल फलदायी हुने विश्वास वयक्त गर्दै आगामी दिनमा पनि छलफलबाटै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सर्लाहीको बरहथवा नगरपालिकाकी नगरप्रमुख कल्पना कटुवालले आफूहरूलाई कतिपय मन्त्री भेट्नै कठिन भइरहेका बेला सहरी विकास मन्त्रालयले बोलाएरै विकास निर्माणका योजनाबारे छलफल गरेको भन्दै खुशी व्यक्त गरिन्। उनले यसरी छलफल गर्ने राम्रो संस्कृति शुरु गरेकोमा उपप्रधानमन्त्री सिंहलाई आभार व्यक्त गर्दै अरु मन्त्रीहरुले पनि उहाँबाट सिक्नुपर्ने बताइन्।
पञ्चदेवल विनायक नगरपालिका अछामकी नगर प्रमुख अम्बिका चलाउनेले पनि सहरी विकास मन्त्रालयले बजेट निर्माणको पूर्वसन्ध्यामा आफ्नो मन्त्रालयसँग जोडिएको योजनाबारे स्थानीय तहको धारणा बुझ्नु अत्यन्त सकारात्मक थालनी भएको बताइन्।
‘बजेटको पूर्वसन्ध्यामा स्थानीय विकासको जिम्मेवारी लिएका देशभरका नगरप्रमुखसँग उपप्रधानमन्त्री सिंहले आवश्यक्ता बुझ्नुभयो ,’ प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले भने,‘हो, यसरी हो समुदायको विकास आवश्यक्ता पहिचान गर्ने। हल्ला हैन चुपचाप काम गर्ने यो पद्धती सबै मन्त्रीले पालना गर्न जरुरी छ।’
उपप्रधानमन्त्री सिंहले सहरी विकास मनत्रालय समहालेपछि सहरी नीति पारित भएकोप्रति पनि स्थानीय सरकारका जनप्रतिनिधिले खुशी वयक्त गरे। उनीहरूले सहरीकरणका क्रममा भोग्दै आउका समस्याबारे उपप्रधानमन्त्री सिंहलाई समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्। उपप्रधानमन्त्री सिंहले त्यसका लागि आफूले पहल गरिररहेको र नीतिगत रुपमै सुधार गर्नका लागि आफू लागिरहेको बताएका थिए।







डिसी नेपाल








Facebook Comment