नेइमारले भने – ‘म रियल मड्रिड होइन बार्सिलोना जान्छु’

डिसी नेपाल
११ भदौ २०७६ १०:४५

काठमाडौं। पेरिस सेन्ट जर्मेनमा ब्राजिलियन सुपरस्टार नेइमारलाई भित्र्याउन स्पेनका दुई महारथी रियल मड्रिड र बार्सिलोनाबीच भइरहेको प्रतिस्पर्धामा नेइमार स्वयंले बार्सिलोनाको पक्ष लिएका छन् । उनले पेरिस सेन्ट जर्मेनका अधिकारीहरुलाई आफू बार्सिलोना जान चाहेको बताएका छन् । स्पेनिस मिडिया मार्काका अनुसार नेइमारले पिएसजीका निर्देशक लियोनार्दोलाई आफू बार्सिलोनामै जान चाहेको बताएका हुन् ।

बार्सिलोनाले उनलाई अनुबन्ध गर्न अर्को अफर ल्याउने तयारी गरेको नेइमारले बुझेका छन् र उनी यो समय समर ट्रान्सफरको लागि निर्णायक हुने विषयमा पनि सचेत छन् । अब लियोनार्दोलाई नेइमार आफ्नो पुरानो क्लव नै फर्किन चाहेको र रियल मड्रिड वा युभेन्टस जान अस्वीकार गरेको प्रस्ट पारिएको छ । बार्सिलोनाको एक टोली मंगलबार पिएसजीका अध्यक्ष नासेर अल खलिफी र निर्देशक लियोनार्दोलाई भेट्न पेरिस गएको थियो ।

बार्सिलोनाले नेइमारका लागि एक खेलाडी, जो सम्भवतः उस्माने डेम्बेले हुन सक्छन् र १७० मिलियन युरोको अफर दिएको छ । फ्रेन्च मिडियाले भने पिएसजीले सम्भवतः डेम्बेलेभन्दा नेल्सन सेमेन्डो माग्न सक्ने उल्लेख गरेका छन् । तर, सेमेन्डो भने पेरिस जान इच्छुक छैनन् । समर ट्रान्सफरको लागि अब ६ दिन मात्र बाँकी छ र बार्सिलोनाले नेइमारको लागि भइरहेको प्रतिस्पर्धामा अग्रता लिएको छ । जसमा नेइमार स्वयंले क्याप नोउ फर्कने इच्छा देखाएपछि बार्सिलोना थप बलियो भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *