सञ्चारमन्त्री बास्कोटाको ‘निम्छरो बानी’ 

डिसी नेपाल
११ भदौ २०७६ १७:०१

काठमाडौं। ‘मानिसहरुका आ–आफ्नै स्वभाव हुन्छन् म यस्तै छु’ यो भनाई सरकारका प्रवक्ताको समेत जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको हो। सञ्चार मन्त्रालयको राजनीतिक नेतृत्व गर्ने त उनको विभागीय जिम्मेवारी नै हो, त्यसभन्दा पनि यहाँ उनको अर्को महत्वपूर्ण जिम्मेवारीबारे चर्चा गर्न खोजिएको छ।

बुधबार सिंहदरबारमा सञ्चार मन्त्रीको मुखारविन्दबाट एक वाणी भयो, ‘त्यो दिन (संविधान दिवस) तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गर्लफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

गएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताको हैसियतमा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली, नक्कली र डेडअक्कली बहसहरु चलिरहेकै छ, सक्कली कुरा १२ बर्ष अगाडि मिर्गौला ट्रान्सप्लान्ट भएको हो । नक्कली कुरा के हो जानीवरी जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुकमा ट्वीट गर्ने डेढअक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’ सञ्चारमन्त्री बास्कोटाले माथिका दुई भनाईहरुमा प्रयोग भएका शब्दहरु हेर्ने हो भने उनी कुनै पनि प्रश्न र विषयमा सिधा र स्पष्ट जवाफ दिँनै जान्दैनन् जस्तो देखिन्छ । माथिल्लो भनाई बुधबार संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार प्रसार उपसिमितिले सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले भनेका हुन् ।

उनले सरकारी विदालाई सरकारी कर्मचारीले तास खेलेर, डेटिंग गएर मनाउँछन् भन्ने ढंगले बुझ्दै उनीहरुलाई सिकाउने शैलीमा त्यस्तो नगर्न चेतावनी दिएका हुन् । उनी सञ्चारमन्त्री भएकाले प्रचारप्रसार उपसमितिमा निम्त्याइका हुन्। सञ्चारमन्त्रीको जिम्मेवार पदमा रहेका व्यक्तिले संविधान दिवसलाई कसरी प्रचारप्रसार गर्ने उनको योजना छ, समितिमा सो विषयमा जानकारी दिनुपर्ने थियो । उनले भडासमात्र पोखे । अथवा प्रधानमन्त्री ओलीको शैलीमा भन्ने हो भने ‘निम्छरो शब्द’ प्रयोग गरे । फेरि प्रधानमन्त्री ओलीलाई नै आधार मान्ने हो भने ‘निम्छरो’ भनाईको उत्तर दिन आवश्यक छैन । र त्यो मान्नुपनि परेन । किनकि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको रोष्टममा उभिएर ‘निम्छरो प्रश्नको जवाफ दिइँदैन’ भनिसकेका छन् । अथवा त्यस्ता ‘निम्छरा’ कुरा एक कानले सुनेर अर्को कानले उडाउने हो ।

यदि त्यस्तो हो भने प्रचारप्रसार उपसमितिमा बुधबार सञ्चारमन्त्री बास्कोटाले गरेको भाषण जिम्मेवारीपूर्ण बन्यो त? प्रश्न उठ्छ । उत्तर – बनेन । किनकि उनी पदीय जिम्मेवारी अनुसार न बोल्न जान्छन् न जिम्मेवारी पूरा गर्छन् । प्रधानमन्त्री ओली उपचारका लागि दोस्रो पटक सिंगापुर उडेकै दिन सरकारको निर्णयबारे औपचारिक रुपमा जानकारी दिन उभिएका सञ्चार मन्त्रीले उनको स्वास्थ्यबारे स्पष्ट जवाफ दिएनन् । उनले प्रधानमन्त्री अस्वस्थ रहेको पनि स्वीकार गरेनन् । यदि प्रधानमन्त्री ओली स्वस्थ थिए भने पक्कै पनि सिंगापुर जाने थिएनन् । यसमा सरासर सञ्चारमन्त्रीले गैरजिम्मेवार जवाफ दिएका हुन् । उनले त्यहाँ पनि आफ्नो भडास पोख्न ‘निम्छरो’ शब्द र शैली प्रयोग गरे।

पद र कुर्सीको आफ्नै गरिमा हुन्छ । र, त्यो पद अंगाल्ने व्यक्तिले देखाउने व्यवहारले त्यसको गरिमा र जवाफदेहीता पनि माग्छ । सरकारको ‘बोल्ने मुख’को जिम्मेवारी पाएका सञ्चारमन्त्रीको मुख ‘तित्राको मुखै वैरी’ छ । जसले वर्तमान सरकारप्रति दिनदिनै आमजनतामा वितृष्ण बढाउन सहयोग गरिरहेको छ ।

सञ्चारमन्त्री बास्कोटाले आफ्नो प्रस्तुत हुने शैलीबारे कमजोरी स्वीकार पनि गरेका छन् । तर, कमजोरी स्वीकार गरिसकेपछि दोहोर्याइरहने कमजोरी क्षमायोग्य हुँदैनन् भन्ने हेक्का भने उनले अझै गरेका छैनन् । बारम्बार उनी गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहन्छन् । सामान्य विषयलाई असामान्य बनाउनमा उनको भूमिका छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे एक वाक्यमा ‘उहाँ अस्वस्थ हुनुहुन्छ, उपचारका लागि सिंगापुर जानुभएको छ’ भनिदिएको भए, आम नेपाली जनताले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न पाउने थिए । प्रधानमन्त्री ओली अस्वस्थ रहेको विषय ‘ओपन सेक्रेट’ भएपछि जनताले मनमनै स्वास्थ्यलाभको कामना गरेका होलान्, खुलेर स्वास्थ्य लाभको कामनासमेत गर्न पाएनन् ।

वर्तमान सरकारको एक नीति देखिन्छ – सकेसम्म सूचना लुकाउने । पूर्व पत्रकारसमेत रहेका बास्कोटाले सञ्चारमन्त्रीको भूमिका पाएपछि अब सूचनाहरु लुक्ने छैनन् भन्ने आम जनताको अपेक्षामा तुषारापत भएको छ । मन्त्रिपरिषदका निर्णय हप्तामा एक पटकमात्र सार्वजनिक गर्ने परम्परा शुरुआत गरेर उनले सूचनाको ओज घटनाउने काम गरेका छन् । सोधिने प्रश्नमा कहिल्यै पनि स्पष्ट जवाफ दिँदैनन् । सार्वजनिक गर्नुपर्ने विषय लुकाएर आम जनतामा त्यसै त्यसै संशय पैदा गराउने काम पनि गरिएका छन् । यसको उदाहारणका लागि भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखको नेपाल भ्रमण र भेटघाटलाई लिन सकिन्छ ।

यी सबै घटनालाई हेर्दा सञ्चारमन्त्रीको गैर जिम्मेवारीपनले सरकारप्रतिको विश्वास दिनप्रतिदिन घट्दै गएको छ । जुन कुरा सरकारका मन्त्रीहरुले पनि स्वीकार गरेका छन् – सरकारको लोकप्रियता घटेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *