भारतमा विद्युत् निर्यात सुरु, ७ सय ३१ मेगावाट विद्युत् बिक्री

डिसी नेपाल
७ जेठ २०८२ १७:०२
888
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न सुरु गरेको छ। शनिबार रातिबाट भारतमा विद्युत् निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले बताएका छन्। प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।

‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताउँदै मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी भारततर्फ निर्यात सुरु भएको जानकारी दिए।

उनले भारतबाट ३५० मेगावाट विद्युत् आयात भइरहेको अवस्थामा वर्षा सुरुभएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात सुरु गरिएको बताए।

‘हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो। तर, अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत् पुग्नेगरी आपूर्ति भइरहेको छ,’ उनले भने।

मंगलबार मध्यरातीदेखि भारतमा ७ सय ३१ मेगावाट विद्युत् बिक्री गरिसकिएको प्राधिकरणले जनाएको छ। मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिए।

उनले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको बताए। उनका अनुसार सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो।

उनले भने, विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट। बत्ती गयो भन्ने गुनासो गर्छन्, तर हामीले जब सो स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौं। यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ।’

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहिँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे। उनले स्पष्ट शब्दमा भने, ‘हामीसँग अहिले विद्युत् उत्पादन, आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ। यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो।’

मन्त्रीखड्काका अनुसार विगतका वर्षहरूमा पनि वर्षको ७ सय घण्टासम्म विभिन्न प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने गरेको थियो । कहिले हावाहुरीले पोल ढल्ने, कहिले मर्मतकै क्रममा लाइन काटिने, कहिले मानवीय त्रुटीका कारण पनि विद्युत् अवरुद्ध हुने गरेका उदाहरण उनले प्रस्तुत गरे।

मन्त्री खड्काले आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्र रूपमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना रहेको बताए। उनले सामाजिक सञ्जालमा यथार्थ विपरीत सूचना नफैलाउन आग्रह गर्दै जनतालाई प्रमाणसहितको जानकारीमा विश्वास गर्न अनुरोध गरे। हल्ला होइन, तथ्यमा विश्वास गर्नुस्। हामी उत्पादन बढाउँदैछौं, आपूर्ति सन्तुलनमा छ, र लोडसेडिङको कुनै खतरा छैन उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.