पेनाल्टीमा नेपाल उज्वेकिस्तानसँग पराजित
काठमाडौं। एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल पराजित भएको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टीमा पराजित भएको हो।
निर्धारित समयको खेलमा बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टीमा नेपाल उज्वेकिस्तानसँग ४–२ पराजित भयो। नेपालका लागि कप्तान सावित्रा भण्डारीले प्रहार गरेको शट पोलमा लागेर फर्कियो भने गोलकिपर अन्जना रानाले हानेको शट उज्वेकिस्तानकी गोलकिपरले रोकिन्।
निर्धारित समयमा ३–३को बराबरी भएपछि ७ मिनेटको इन्जरी समय थपिएको थियो। तर उक्त समयमा दुवै टोलीले गोल नगरेपछि खेल पेनाल्टीमा गएको थियो
पहिलो हाफमा ३–१ ले पछि परेको स्थिति उल्टाउँदै नेपाल खेलमा फर्किएको थियो। नेपालको पुनरागमनमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिका गरिन। उनले खेलको २४औँ, ७१ औँ र ७३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्।
खेलको दोस्रो मिनेटमा नै घरेलु टोली उज्वेकिस्तानले अग्रता बनाएका थियो। उसका लागि खाबीबुलेएभाले गोल गरिन्। खेलको १२औँ मिनेटमा नेपालका तर्फबाट आत्मघती गोल हुन पुग्यो। उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो।
यस्तै खेलको २४औँ मिनेटमा नेपालका लागि कप्तान साम्बाले गोल गरिन्। खेलको ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो। पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गरिन्।दास्रो हाफमा सावित्राले लगातार दुई गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्।
पराजयसँगै नेपाल आगामी वर्ष अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्नबाट वञ्चित भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment