आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

डिसी नेपाल
१० साउन २०८२ २२:४१
108
Shares

झापा। यही साउन ६ गते आगलागीमा परी घाइते भएका हल्दिबारी गाउँपालिका-४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा आज मृत्यु भएको छ।

उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए। साउन ६ गते बिहान आफ्नै घरको भान्साकोठामा रोटी पकाउने ग्यास सिलिन्डरबाट सल्किएको आगो निभाउने क्रममा ओलीसहित एकै परिवारका पाँच जना घाइते भएका थिए।

सो घटनामा ओलीसहित उनकी ५९ वर्षीया पत्नी गोमादेवी ओली, जेठो छोरा ३३ वर्षीय सन्तोष ओली, जेठी बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए।

भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहअनुसार पुण्यप्रसाद र बुहारी अनितालाई थप उपचारका लागि हेलिकप्टरमार्फत कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो। बर्न अस्पतालमा अनिताको उपचार भइरहेको छ। घाइतेहरू गोमादेवी र सन्तोष उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.