विश्व श्रम बजारमा रहेका नेपाली श्रमिक प्रति एनआरएनए संवेदनशील छ : कुमार पन्त

डिसी नेपाल
१९ भदौ २०७६ ८:०८

लन्डन। गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले विश्व श्रम बजारमा रहेका नेपाली श्रमिकको मुद्दामा गैरआवासीय नेपाली संघ संवेदनशील रहेको बताएका छन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाको छैँठौँ महाधिवेशनमा सम्बोधन गर्दै पन्तले स्थापनाकालदेखि नै संघले श्रमिकको मुद्दाप्रति संवेदनशील रहीआएको बताएका हुन्।

सन् २०१५ को स्मरण गर्दै पन्तले भने, “म साथीहरुलाई स्मरण गराउन चाहन्छु, कि हामीले सन् २०१५ मै उद्घोष गरेका थियौँ कि, गैरआवासीय नेपाली संघको अबको प्रमुख कार्यभार भनेको श्रमिकहरु बसेको ठाउँमा रहन्छ भनेर।”

श्रमिकको विषयमा संघले गम्भीरतापूर्वक सोचेरै श्रमिक कल्याणकारी कोषको स्थापना गरेको दोहोर्याउँदै पन्तले भने, “हामीले श्रमिक कल्याणकारी कोषको समेत स्थापना गर्यौँ, जसमा तत्कालिन अध्यक्ष शेष घले ज्यू र वर्तमान अध्यक्ष भवन भट्टज्यू एक – एक करोड राख्नुभयो र म लगायत हामी सबैले पनि केही रकम जम्मा गरेका छौँ।”

उनले थपे, “त्यतिबेला हामी के निष्कर्षमा पुगेका थियौँ भने अब गैरआवासीय नेपाली संघ मुख्यगरी, श्रमिकहरुको बीचमा रहनुपर्छ, विशेषगरी श्रम गरेर देशमा रेमिटया्न्स पठाएर अर्थतन्त्रलाई धान्ने साथीहरुको माझमा संघलाई लिएर जानुपर्छ भनेर, तर बिड्म्बना त्यतिबेलै नेपालमा भूकम्प गयो र संघको सम्पूर्ण श्रोत र शक्ति पुर्ननिर्माण केन्द्रित भयो, जसका कारण हामीले घोषणा गरेको श्रमिकको माझमा आउने योजनालाई दोश्रो प्राथमिकतामा राख्नुपर्ने बाध्यता हामीमाझ रह्यो।”

पन्तले भने, “तर साथीहरु अब भने हामी त्यो जिम्मेवारी जुन पुर्ननिर्माणको रहेको थियो त्यसको लगभग अन्त्यतिर छौँ, र अब संघ मुख्यगरी श्रमिक माझ जाने प्रण गरेर तपाइमाझ आएको छ।”

श्रमिक कोषलाई निरन्तरता दिई थप बलियो अघि बढाउने रणनीति संघले अघि सारेको पन्तको भनाई थियो। कोषमा हाल रहेको केही रकमलाई दोब्बर बनाउने लक्ष्य संघको रहेको उनको भनाई थियो।

“अबको दुई वर्षमा कोषलाई कमसेकम दोब्बर बनाउने कुराको प्रतिबद्धता यो संघ गर्दछ।” उनले भने, “चाहे त्यो म नेतृत्वमा आओस् चाहे अन्य साथीमार्फत, जे होस् यो जिम्मेवारी संघको प्रमुख जिम्मेवारी हो।”

विदेशमा नेपालीले कमाएको पूँजीदेखि सीपसम्म आफ्नै मातृभूमिमा लगानी गर्ने वातावरण निर्माण गर्ने बाटोमा देखिएका कानूनी व्यवधान समेत समाधान भइसकेको र अब नागरिकताको विषयमा समेत संघ र सरकारबीचको सम्वादले सकारात्मक मोड लिइरहेको उनको भनाई थियो।

विशेषगरी रेमिटयान्समार्फत मुलुकमा पठाएको रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताउँदै उनले अब भने सो रकमलाई रोजगारको अवसर सिर्जना गर्ने उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए त्यसका लागि संघ प्रतिबद्ध रहेको पन्तले जानकारी गराए।

श्रमिकको विषय भिजन २०२० मा समेत प्राथमिकताका साथ लिपिबद्ध गरेको पन्तले बताए। विशेषगरी मलेसिया लगायतका अन्य विश्वभरका श्रम बजारमा रहेको नेपालीहरुले कमाएको पूँजी मात्र नभई उनीहरुले सिकेका ज्ञान, सीप र प्रविधि समेत नेपालमा भित्र्याउने कामको थालनी संघले गरिसकेको स्मरण गराउँदै पन्तले विदेशबाट नेपालमा फर्कदा समेत बेरोजगार बस्नु पर्ने बाध्यताको अन्त्य गर्न संघले विभिन्न योजना अघि सारेको बताए।

“म त भूकम्पले थलिएके गोरखाको मान्छे, म अक्सर त्यहाँ जाँदा देख्नु त्यहाँ काम गर्ने अधिकांश मजदूर भारत लगायत मुलुकका छन्, र खाडी मुलुकमा हाम्रा नेपाली दाजूभाईले कमाउने भन्दा बढी तलब लिएर काम गर्छन्” पन्तले भने, “साथीहरु के हामी आफैँ हाम्रै मुलुकमा अरुले कमाउने जति पैसा कमाउन र आर्थिक जोहो गर्न सक्दैनौँ?”

गैरआवासीय नेपाली संघले मुलुकमै दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न सीपमुलुक तालिमको सञ्चालन गर्ने योजना अघि सारी त्यसको थालनी समेत गरिसकेको पन्तले जानकारी गराए।

“विशेषगरी हामीले ७ वटै प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्न सीपमुलक तालिमको अवधारणा ल्याएका छौँ, र त्यसको सुरुवात प्रदेश ३ बाट गरिसकेका छौँ, पन्तले भने, “संघको सहकार्यमा जर्मनीको एउटा एनजीओले काम सुरु गरिसकेको छ, साथीहरु यो कदमले नेपालले अदक्ष कामदार मात्रै विश्व श्रम बजारमा पठाउँछ भन्ने कुरालाई गलत साबित गर्नेछ।”

नेपालमा १० अर्बको सामुहिक लगानी कोषको स्थापनाको विषयमा विद्यमान गलत किसिमका अफवाह र भ्रमबाट मुक्त भई लगानीका लागि तयार रहन समेत पन्तले आग्रह गरे। प्रत्येक श्रमिकको पाँच, दश डलरदेखि साना ठूला व्यवसायीको करोडौँको लगानी सो कोषमा समेटेलिने पन्तले बताए। साना लगानीकर्तालाई प्रवद्र्धन गर्ने लक्ष्य संघले राखेको उनले बताए।

फरक प्रसंगमा, पन्तले गैरआवासीय नेपालीहरुलाई सदस्यता लिएर त्यसबाट प्राप्त गर्न सकिने सुविधा उपभोग गर्न समेत सुझाए। यसैगरी, पूर्व अध्यक्ष शेष घलेकै पालोमा ल्याइएको ‘भिजन २०२० वियोन्ड’लाई आधार मानेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै पन्तले संस्थामा महिला, युवा र दोश्रो पुस्ताको सहभागिता बढाउने विषयमा सबैले आ आफ्नो स्थानबाट सहयोग र सक्रियता देखाउनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *