मोलुङ गाउँपालिका वडा नम्बर ४ द्वारा काठमाडौंमा सेवा प्रवाह शिविर संचालन

डिसी नेपाल
२२ साउन २०८२ १९:५२
420
Shares

ओखलढुंगा। अध्ययन, रोजगारीलगायत विभिन्न कारणले काठमाडौं उपत्यका भित्र र बाहिर बस्ने नागरिकलाई मध्यनजर गर्दै मोलुङ गाउँपालिका-४ ले काठमाडौंबाट सामाजिक सुरक्षा भत्ता दर्ता तथा नाम नवीकरण, मालपोत तथा भूमिकर संकलनलगायत सेवा दिने उद्देश्यले शिविर संचालन गरेको छ।

यही साउन २० देखि २४ गतेसम्म काठमाडौं महानगरपालिका–६ स्थित त्रिकोण प्रिन्टिङ एण्ड सप्लायर्स ओखलढुंगे चोक कपनबाट सेवा प्रवाह गरिएको मोलुङ-४ का वडाध्यक्ष भोलाराज राईले जानकारी दिए।

वडाध्यक्ष राईका अनुसार विहान दश बजेदेखि साँझसम्म वडा कार्यलयबाट प्रवाह गरिने सम्पूर्ण सेवा पाँच दिनसम्म संचालन गरिनेछ। विभिन्न कारणले जन्मस्थल भन्दा बाहिर रहेका र अत्यावश्यक कामको लागि पनि जान नपाएका नागरिकलाई लक्षित गरेर सेवा प्रवाह गरिएको वडा सचिव शान्तिलाल सापकोटाले जानकारी दिए।

सो स्थानबाट सेवा लिन उल्लेख्य मात्रामा सेवाग्राही आएको सचिव सापकोटाले बताए। ‘जन्म दर्ता, मुत्यु दर्ता, बसाइँ सराइ, विवाह दर्ता तथा सम्बन्ध विच्छेदलगायत वडा कार्यालयबाट सम्पादन हुने सम्पूर्ण प्रशासनिक कामहरु शिविरको रुपमा संचालन भइरहेको हुँदा सम्बन्धित सबैले मौकाको फाइदा उठाउनु हुन आग्रह गर्दछौं,’ वडासचिव सापकोटाले भने।

छोराको जन्म दर्ता सच्याउन आएका सेवाग्राही होमप्रसाद वाग्लेले विभिन्न कामको सिलसिलामा घर जान नपाएका आफूहरु जस्तालाई वडा कार्यालयले संचालन गरेको शिविरले लाभ पुगेको बताए।

वडा कार्यालयले काम विशेषले बाहिर रहेका नागरिकका लागि यस्ता शिविर बेला बेलामा संचालन गर्नुपर्ने सेवाग्राही पदम कार्कीको भनाइ छ।

बेला बेलामा यस्ता सेवाग्राहीलाई लक्षित गरेर यस्ता शिविर संचालन गरिने वडाध्यक्ष राईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *