कथा

धुवाँभित्र हराएको देश

तोमनाथ उप्रेती
२४ साउन २०८२ ७:१२
36
Shares

बिहानीको आकाशमा अचम्मको नाच थियो।

कुनै स्वर्गिक नाट्यको जस्तो-तर यो नाटक न देवताले लेखेका थिए, न ऋषिहरूले रचेका। यो त अपवित्र मन, लोभका हात र कालो सौदाहरूको संयुक्त कोरियोग्राफी थियो, जुन आकाशको क्यानभासमा छायाँका ब्रशहरूले चित्रित गरिरहेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको माथि कालो मेघहरू एकअर्कासँग ठोक्किँदै, ओठमा गुफ्सिएको बादल लिएर घम्साघम्सी गर्दै थिए। आकाश निलो थिएन, न त सेतो-त्यो न कुनै विहानी थियो, न साँझ। त्यो केवल प्रतीक्षा थियो-कुनै अपराधको प्रकट हुनुअघि प्रकृतिले देखाउने मौन झट्का।

चीलहरू अचम्मको दिशामा उडिरहेका थिए—बिना उद्देश्य, तर उद्देश्यले भरिएका। गिद्धहरू विमानस्थल वरिपरिको लावारिस मैदानमा डुलिरहेका थिए—जसरी अपराध सधैँ कुनै शवको गन्ध खोज्दै हिँड्छ।

हावा भारी थियो। हावामा धूलो मात्रै होइन, कुनै कुरा नखुलेको रहस्य पनि मिसिएको थियो। जसरी कुनै कविले कविता लेख्नुअघि महसुस गर्छन्-केही लेखिन बाँकी छ, केहि असाध्यै ठूलो, डर लाग्दो कुरा।

त्यो बिहान साउनको थियो, तर सधैंझैं हरियाली होइन, उदासीले भरिएको। बादलले विमानस्थललाई एक किसिमको दुर्ग बनाइदिएको थियो-जहाँ पर्खालहरू बादल थिए, ढोका बिजुली थियो, र भित्रको आकस्मिकता कुनै युद्धजस्तो।

अन्धकारको एउटा अदृश्य ड्रागन-प्रकृतिको रक्षा देवता नभइ, यो त मानवीय पापले जन्मिएको दैत्यजस्तो-त्यही त्रिभुवन विमानस्थलमाथि आफ्नो कालो छायाँ फ्याँकिरहेको थियो। बिजुलीको चट्याङले उसका अदृश्य पखेटा टल्किरहेका थिए-ठीक त्यही बेला, जब एक विमान थाइल्यान्डबाट काठमाडौंको आकाश छुन आइपुगेको थियो।

विमानभित्र ४५ जोडी आँखाहरू थिए-तर ती आँखाहरू यात्रुको थिएनन्, ती त सौदागरीका गोप्य साक्षी थिए।

धपक्क बलेका ती आँखाहरूमा थाइल्यान्डको प्रशोधित गाँजाको हरियाली देखिन्थ्यो, पैसा कमाउने सपनाको सुनौलो चमक झल्किन्थ्यो, र त्यहीसंगै एउटा खतरनाक रहस्य लुकिएको थियो-‘यो झोला पुर्‍याइदेऊ, पैसा तिम्रो।’

तीमध्ये कसैले कविता पढ्दैनथ्यो, कसैले बादलको रूप हेर्दैनथ्यो। उनीहरूको हृदयमा कुनै ममताको गाँठो थिएन-केवल सौदाको चिट्ठा थियो।
तिनको उद्देश्य सरल थियो-नेपाललाई केवल एउटा पुल बनाउने, जहाँ लागुऔषधको लहरो गंगाजस्तो बग्न सक्छ।

तर उनीहरूले थाहा पाएनन्-कहिलेकाहीँ पुल पनि चर्किन्छ, कहिलेकाहीँ आकाश आफैं प्रहरीजस्तो गर्जन्छ। विमान अवतरणको तयारी गर्दै थियो, तल पुलिसका आँखाहरू जस्तै चम्किरहेको थियो रनवे।

हावाले हरेक साससँग एउटा गन्ध बोकिरहेको थियो-कोकिनको, हिरोइनको, र हराउँदै गएको आशाको। र त्यही समय, आकाशको गहिराइमा आवाज उठ्यो-एक चिलको काँस्ने स्वर।

मानौं उसले भन्न खोज्यो- “आज पनि, अर्को एउटा झोला देशभित्र पस्दैछ। तर सधैंजस्तो यसपटक त्यो झोला गन्तव्यमा पुग्ने छैन।”

विमान ओर्लिनेछ। ड्रागन झुल्कनेछ।

र त्यो बिहान अपराधको इतिहासमा एउटा नयाँ पन्ना लेखिनेछ-बर्षातमा भीजेको, कोकिनले सिक्त, र चीलले साक्षी बसेको पन्ना।
सन्ध्या न हो, तर सूर्यको कुनै छाया थिएन।

शून्यजस्तो लटपटिएको आकाशले राजधानीलाई चुपचाप निगरानी गरिरहेको थियो। बर्षाका थोपा-थोपा जस्तै प्रहरीका प्रतिवेदनहरू कागजमा झरिरहेका थिए-तर तिनमा न आँसु थिए, न रगत-केवल धुलो थियो, राष्ट्रको र अन्तरात्माको।

त्रिभुवन विमानस्थलको एक कुनामा एउटा झ्याल थियो, जुनबाट देखिने आकाश उही थियो-तर बुझिने कथा फरक।

त्यो झ्यालबाट एक वृद्ध अधिकारी हरेक दिन हेर्थे, चिया पिउँथे र भन्थे,

“यी बादलहरू अपराधी होइनन्, यी त केवल दर्शक हुन्-असली अपराध त ती सुस्केरा हुन्, जुन कानुनको खाल्डोमा हराउँछन्।”

त्यस साँझ, ती वृद्ध प्रहरी अधिकारीले त्यही झ्यालबाट हेर्दा देखे-फेरि एक फ्लाइट ओर्लँदैछ।

त्यही फ्लाइट, जहाँ केही थकित अनुहारहरू थिए, केही नयाँ प्रयासहरू थिए, र फेरि त्यही आँखा-धपक्क बलेका, धन्दाको निद्रा सुत्न खोजिरहेका।
तर आज केही फरक थियो।

यो उडान नियमित थियो, तर त्यसभित्रको एक यात्रु असाधारण लाग्थ्यो-मौलिक, तर अज्ञात। कुनै हो-हल्ला, कुनै स्वाङ होइन; तर उनको उपस्थिति नै एक रहस्य जस्तो थियो-धेरै पढिएका पुस्तकहरूको अघोषित सन्दर्भजस्तो, जुन अचानक सजीव भएर विमानस्थलको चिसो भुइँमा उत्रियो। उनको हातमा एक झोला थियो, पासपोर्टमा एउटा नाम थियो, तर त्यो नाम, त्यो कागज, त्यो औपचारिकता-सबै केही यति असत्य लाग्थे, मानौँ उनी नाम र देशको परिभाषा बाहिरको मान्छे हुन्।

उनी सिधै चेकपोइन्टमा पुगे। अधिकारीहरू सधैँको लयमा थिए-निस्तेज, रटेको जस्तै सोधपुछ, स्क्यानिङ, मुस्कान र आशंकाको मिश्रण। तर यसपटक त्यो लय भङ्ग भयो।

“म आत्मसमर्पण गर्न चाहन्छु,” उनले भने। आवाज मधुर थियो, तर दृढ।

“मैले ती गाँजा बोक्नेहरूलाई प्रशिक्षण दिएको थिएँ। म तस्करी सञ्जालको मध्यवर्ती सूत्र हुँ।”

सुरक्षाकर्मीहरू एकछिन चुप लागे। यस्ता आत्मसमर्पण प्रायः राजनीतिक चोला ओढेका हुन्छन्, कुनै लाभको समीकरण हुन्छ। तर यो आत्मसमर्पण केवल एक भनाइ थिएन-यो आत्मा फाल्ने निर्णय थियो।

उनीसँग ल्याइएको एउटा प्लास्टिकमा बेरिएको बक्स खोलीयो। त्यसमा केवल एउटा चिठ्ठी थियो। कुनै प्रमाण होइन, कुनै नक्सा होइन—तर शब्दहरू, जुन बारूदभन्दा बलिया थिए। त्यो चिठ्ठी पुरानो शैलीमा लेखिएको थियो-स्याही, गहिरा अक्षरहरू, सायद मुटुबाटै बगेको मसी।
त्यहाँ लेखिएको थियो:

“म अपराधी होइन” – यो एउटा क्रन्दन मात्र होइन, यो ती सबै मौन आवाजहरूको प्रतिनिधित्व हो, जसले कहिल्यै आफूलाई बयान गर्न पाएनन्। म त्यो संवाद हुँ, जुन समाजले आँखा चिम्लेर अस्वीकार गर्‍यो, कान थुनेर नकार्‍यो। मेरो अस्तित्व संवादमा होइन, तिनको मौनतामा छ। म त्यो गाँजा हुँ, जसले केवल नशा होइन, व्यक्तिको चेतनालाई बाँध्ने काम गर्छ। आत्मा त अझै धेरै टाढा छ, शरीर नै पहिल्यै पराधीन बन्छ—र त युवा ढल्छन्, बाउ आमाले घाट पुग्छन्।

म त्यो उडान हुँ, जो विमान होइन। म लोभको हावामा उड्छु-जहाँ टिकट छैन, गन्तव्य छैन, केवल आशा र भ्रमको व्यापार छ। मलाई सजाय दिन सकिन्छ, म व्यक्तिमा प्रकट हुन्छु-तर त्यो सपना जसले मेरो सिर्जना गर्‍यो, त्यसलाई कसरी फाँसी दिने?

भारत-नेपालको खुला सीमाबाट तस्करी हुन्छ, नशा आउँछ, मान्छे हराउँछ-अनि फर्किन्छ केवल शव। जब सीमा पुल होइन, लाशको पाइला बन्न थाल्छ, तब बुझ-अपराधी एक जना होइन। यो व्यक्ति मात्र होइन, एक सिङ्गो संस्था हो, सत्ताको समर्थनमा लुकेको सञ्जाल हो, र त्यो शून्यता हो, जसमा न्यायको आवाज हराएको छ।

त्यो चिठ्ठीको भाषामा एक किसिमको गहिरो ज्ञान थियो-सामाजिक संरचनामाथि एक क्रान्तिकारी दृष्टिकोण, जसले अपराधलाई मान्छेको कमजोरी हैन, व्यवस्थाको मौन सहमति मानेको थियो।

त्यस रात सुरक्षा अधिकारीहरू सारा रेकर्ड खोतल्न थाले। त्यही हातको लेखावट मिल्ने पुरानो अपराधी थियो—नदीम। दशकअघि जेलबाट फरार भएको, अनि त्यही दिनदेखि अदृश्य भएको, तर आफ्नो नामको सट्टा हजारौं युवाको पतनमा जीवित भएको एउटा छायाँ।

अहिले हिरासतमा रहेको त्यो व्यक्ति-शान्त, मौन, सायद पश्चातापले होइन, सत्यको भारले चुप थियो।
त्यो हिरासतको भित्तामा, उनले अर्को पटक लेखे-

“देशहरूले बादलको अध्ययन गर्छन्। तर अपराधको अध्ययन कहिल्यै गर्दैनन्, किनकि त्यो बादल नभई धुवाँ हो-र धुवाँ जहिले पनि आफ्नै घरबाट सुरु हुन्छ।”

त्यो रात त्रिभुवन विमानस्थलमा कुनै विमान दुर्घटना भएन। तर एक विचार, एक आत्मस्वीकृति, र एक अधुरो चेतावनीले—पूरा व्यवस्थालाई हल्लाएको थियो।
नदीम फर्किएको थिए। तर शायद उनी कहिल्यै कहाँ गएका थिएनन्।

रातको त्यो साढे १२ बजेको क्षण, जुन समय शहर निद्रामा हुन्छ, आकाश चिच्याइरहेको थियो। चट्याङको आवाजले त्रिभुवन विमानस्थलको पुरानो हिरासत भवन एकछिन काँप्यो। झ्यालका फलामका बारहरूमा बिजुलीको छाया एकछिन अडिएर फेरि हरायो-मानौँ, आकाश आफैं तल झरेर भित्र प्रवेश गरेको हो।

ढोका खुल्यो।

तर कोही थिएन।

सिर्फ धुवाँको सुस्केरा थियो-न गर्मी थियो, न शीतलता-तर अस्तित्वको अस्पष्ट संकेत। एक प्रकारको अदृश्य छायाँ, जुन सिसा हुँदै सन्देश जस्तो पस्न सक्छ, तर कहिल्यै समातिँदैन।

विशेष अनुसन्धान टोली स्तब्ध भयो। चाबी त सुरक्षित ठाउँमा थियो। सिसीटीभी फुटेजमा कुनै शरीर थिएन, तर छायाँजस्तो आकृति थियो, जसले आकाश हेर्ने झ्यालको छेउमा पुगेर बिस्तारै बिलायो—धुवाँभित्रै। न आवाज, न त भाग्ने प्रयास। केवल हराउने इरादा।

“यो कुन किसिमको हराउनु हो?”

सुरक्षा प्रमुखले फुसफुसाए, सायद आफूलाई नै।

तर जवाफ कसैले दिएन, किनकि प्रश्न स्वभावमै मौन थियो।

अर्को बिहान, जब राजधानी पुरानै गतिमा फर्कियो, आकाश फेरि केही चरा र गिद्धले सजायो। चीलहरू सधैँको जस्तो अब्बल दिशामा उडे, तर गिद्धहरू अझ नजिक आए-जसरी शिकार नजिकिएपछि सिकारिको आँखा तेज हुन्छ।

त्यसै दिन, विमानस्थलको भित्तामा कसैले रातारात लेखेको थियो-

“जबसम्म एक झोला, एक सपना बराबर रहन्छ,  तबसम्म आकाश चरा होइन, गिद्धले नाप्छ। र जब सत्य आत्मसमर्पण गर्छ, तब झ्यालहरू बन्द हुन थाल्छन्-न भित्रबाट, न बाहिरबाट-तर आकाशबाट।”

यो वाक्य सादा थिएन। यसभित्र ध्वनि थिएन, तर गर्जन थियो। वाक्यजस्तै देखिने ती शब्दहरू कुनै चेतावनी थिएनन्, ती भविष्यवाणी थिए।

त्यसपछि, विमानस्थलको एक पुरानो कुनामा बस्ने वृद्ध प्रहरी अधिकृतले झ्यालबाट हेर्न छाडे। उनले चिया पिउन पनि बन्द गरे।
किनभने अब त्यो झ्याल उनीभित्र पस्न थालेको थियो।

रातको सपनामा, उनी देख्थे-आकाशबाट ओरालो झरेका धुवाँका आकृति, जसले थैली बोकेका मानिसहरूलाई केही न केही सल्लाह दिन्थे-तर कुनै भाषा प्रयोग नगरी।

धुवाँ बोल्दैन, तर बुझाउँछ।

त्यसैले उनले बुझ्न थाले-सुरक्षा भनेको सशस्त्र गेट होइन, सत्य बुझ्ने आँखा हो। देशको सीमाभन्दा खतरनाक कुरा के हो भने-
“हामीलाई लाग्छ, हाम्रो आकाश निलो छ। तर साँच्ची त्यो धुवाँले भरिएको छ- र त्यो धुवाँ कहिले आँखा जलाउँछ, कहिले आत्मा।”

त्यही क्षण, चिल एकपटक फेरि झ्याल नजिकबाट उड्यो। र त्यही क्षण, वृद्ध अधिकारीले महसुस गरे- शायद त्यो व्यक्ति हराएको थिएन।
शायद उनी अझै त्यहीँ थिए।
झ्यालभित्र। धुवाँको रूपमा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.