एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही साउन २७ र २८ गते काठमाडौंमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीभित्र शीर्ष नेताहरूबीच वैचारिक विवाद बढेपछि अधिकांश नेताहरूले संगठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटीबाट अविलम्ब टुङ्गो लगाउन माग गरेका थिए। पार्टीको सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग गरिने सहकार्यलगायत विषयमा निर्णय गरिने छ।
केन्द्रीय कमिटीका मुख्य एजेण्डा तथा कार्यक्रम तय गर्न यही साउन २५ गते स्थायी कमिटी र साउन २६ गते सचिवालय बैठक बोलाइएको छ। भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा पार्टीले सञ्चालन गरेका अभियानबारे समीक्षा गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्यप्रगतिको छलफल गरिने जनाइएको छ।
यसैबीच विवाद समाधानका लागि पार्टीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच आज करिब चार घण्टा लामो छलफल भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment