मन्त्री यादव र भारत विज्ञ टोलीहरूबीच मधेसको खानेपानी समस्या समाधानका लागि छलफल
काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ।
आज मन्त्री यादवको विशेष निमन्त्रणामा आएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी संकट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार उक्त टोली भोलि मंगलबारदेखि तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिने छन्।
उक्त छलफलका क्रममा मन्त्री यादवले खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको, बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेको बताए।
उनले भने, ‘विशेष गरी खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको र पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन्। त्यहाँको समस्या समाधान गर्न आवश्यक छ।’
यसैगरी उनले नेपाल सरकार मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको जानकारी गराए।
मन्त्री यादवले भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिनाअघि हस्ताक्षर भएको समझदारी पत्र (एमओयु) को फलस्वरूप आजको सहकार्य सम्भव भएको र यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
बैठकमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, उपमहानिर्देशक नारायणप्रसाद आचार्य, मेलम्ची विकास समितिका प्रमुख रत्नप्रसाद लामिछाने सहभागी थिए।
यसैगरी भारतीय विज्ञ टोलीका तर्फबाट देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनऊ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डे लगायतको सहभागिता रहेको थियो।







डिसी नेपाल








Facebook Comment