उपसभामुखलाई हटाउन हस्ताक्षर संकलन गरिएको होइन : योगेश भट्टराई

डिसी नेपाल
३ भदौ २०८२ १४:१९
220
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने उद्देश्यले सांसदहरूको हस्ताक्षर संकलन नगरिएको स्पष्ट पारेका छन्।

मंगलबार संसदीय दलको कार्यालय बाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले कांग्रेस र एमालेले एकैदिन सांसदको हस्ताक्षर लिनु सल्लाह नभएर संयोग भएको समेत जानकारी दिए।

उनले भने, ‘कांग्रेस र हाम्रो सल्लाह भएर यो एकैदिन हस्ताक्षर भएको होइन। संयोगले एकैदिन परेको मात्रै होला। हस्ताक्षर विभिन्न काममा प्रयोग हुन्छन्। कुनै काम विशेषलाई भनेर हस्ताक्षर लिइएको होइन्। यो कामको लागि भनेर किटानी गरेर हस्ताक्षर गरेको छैन।’

त्यस्तै उनले नेपालमा मात्रै होइन, संसदीय अभ्यास भएका देशहरूमा जहाँ पनि सांसदको हस्ताक्षर लिने प्रचलन रहेको बताउँदै सांसदको हस्ताक्षर लिनुलाई सामान्य रूपमा लिनुपर्ने धारणा राखे।

उनले भने, ‘यो अहिले मात्रै होइन २०४८ सालदेखि चलिआएको चलन हो। यो नेपालमा मात्रै होइन हाम्रो जस्तो संसदीय अभ्यास भएका देशहरूमा जहाँ पनि चल्छ। दलले पार्टीका सांसदको हस्ताक्षर लिइराखेको हुन्छ। कुनै बेला अपर्झट प्रस्ताव दर्ता गर्नुपर्ने हुनसक्छ। त्यो बेला कोही विदेश या काठमाडौं बाहिर हुन्छन्। त्यसैले पूर्वतयारिका लागि हस्ताक्षर लिन्छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.