पानीघट्टसँगै पुर्खाको लोप हुँदै

डिसी नेपाल
१८ असोज २०८३ २१:५९

लमजुङ। पहिले गाउँको जीवनसँग पानीको कलकल आवाजसँगै जोडिएको थियो पानीघट्ट। खोलाको पानीलाई कुलोमार्फत घट्टसम्म पुर्‍याइन्थ्यो र त्यही पानीको शक्तिले ढुङ्गा घुमाएर घरघरको अन्न पिसिन्थ्यो। गाउँमा आधुनिक मिल र बिजुली नपुगेका बेला पानीघट्ट अन्न पिस्ने साधन मात्र थिएन, गाउँको आत्मनिर्भर जीवनको महत्वपूर्ण आधारसमेत थियो।

मकै, कोदो, गहुँ, जौ, धानलगायत अन्न पिस्न प्रयोग हुने पानीघट्टमा गाउँलेको दैनिकी, श्रम र पुर्खाको सीप जोडिएको थियो। घट्टमा अन्न पिसाएबापत पैसा नभई केही अन्न दिने चलन थियो। तर अहिले समय फेरिएको छ। गाउँमा बिजुली, सडक र आधुनिक प्रविधिको पहुँच बढ्दै गएपछि पानीघट्टको प्रयोग क्रमशः घट्दै गएको छ।

कुनै समय लमजुङका दर्जनौँ गाउँमा प्रचलनमा रहेका पानीघट्ट अहिले कतिपय ठाउँमा देख्नै मुस्किल हुन थालेका छन्। दूधपोखरी गाउँपालिका-२ विचौरका स्थानीय विनायक दवाडीका अनुसार इलामपोखरी, विचौरलगायत ठाउँमा पहिले पानीघट्ट गाउँलेको अन्न पिस्ने प्रमुख आधार थिए। स्थानीयले घट्टमा अन्न पिसाउने र त्यसबापत केही अन्न दिने चलन थियो। अहिले भने गाउँबाट पानीघट्ट हराइसकेको उनले बताए।

“पहिले पानीघट्टमा गाउँलेको ठूलो भर थियो। अन्न पिस्नका लागि घट्टमै जाने र त्यसबापत केही अन्न दिने चलन थियो। अहिले गाउँमा पानीघट्ट नै छैनन्”, दवाडीले भने। उनका अनुसार गाउँमा सडक पुगेपछि गाडीमार्फत नयाँ प्रविधि र आधुनिक मिलको पहुँच बढ्न थालेसँगै समय र श्रम बचत हुने भएपछि गाउँलेले परम्परागत पानीघट्टको सट्टा आधुनिक प्रविधि प्रयोग गर्न थालेकाले पुर्खाको सीप र घट्ट हराउँदै गएको उनको भनाइ छ।

“सडक पुगेपछि नयाँ प्रविधि गाउँसम्म आइपुग्यो। समय र श्रम बचत हुने भएकाले गाउँले पनि आधुनिक प्रविधितर्फ आकर्षित भए। त्यससँगै पुर्खादेखि चलिआएको पानीघट्ट हराउँदै गएका छन्”, दवाडीले भने। पानीघट्ट हराउँदै जाँदा पुर्खाले प्रयोग गर्दै आएको परम्परागत प्रविधि र सीपसमेत नयाँ पुस्ताबाट टाढिँदै गएकामा उहाँले चिन्ता व्यक्त गरे।

मस्र्याङ्दी गाउँपालिका-४ का स्थानीय प्रदीप गुरुङका अनुसार एक दशकअघिसम्म गाउँका मिप्रा र छाप्रामा पानीघट्ट सञ्चालनमा थिए। गाउँमा बिजुली पुगेपछि आधुनिक मिलको प्रयोग बढ्दै गयो र पानीघट्ट क्रमशः हराउँदै गएका उनको भनाइ छ। “एक दशकअघिसम्म हाम्रो गाउँमा मिप्रा र छाप्रामा पानीघट्ट थिए। बिजुली आएपछि गाउँले आधुनिक तरिकातर्फ लागे। त्यसपछि पानीघट्ट चल्न छाडे र अहिले गाउँबाटै लोप भइसकेका छन्”, उनले भने।

उहाँका अनुसार पानीघट्ट हराउँदै जाँदा त्यसको प्रयोग, बनावट र सञ्चालनको परम्परागत ज्ञानसमेत नयाँ पुस्ताबाट टाढिँदै गएको छ। अहिलेका युवापुस्ताले पुर्खाले कसरी पानीघट्ट सञ्चालन गरेर अन्न पिस्थे भन्नेसमेत थाहा पाउन कठिन हुँदै गएको उनले उल्लेख गरे।

क्व्होलासोथार गाउँपालिका-४ भुजुङका स्थानीय हेमन्ता गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा पाँच, छ वटासम्म पानीघट्ट सञ्चालनमा थिए। गाउँलेहरू अन्न पिस्न तिनै घट्टमा निर्भर हुन्थे। अहिले भने गाउँमा एउटा मात्र पानीघट्ट बाँकी छ। “पहिले गाउँलेको अन्न पिस्ने मुख्य आधार पानीघट्ट थियो। अहिले आधुनिक मिल आएपछि यसको प्रयोग घट्दै गयो”, उनले भने।

उनका अनुसार पानीघट्ट पुर्खाले छाडेर गएको सीप, कला र स्थानीय प्रविधिको चिनारीसमेत हो। यस्ता पुख्र्यौली सम्पदा संरक्षण गर्न नसके भावी पुस्ताले आफ्नो मौलिक प्रविधि र सीपबारे प्रत्यक्ष जान्ने अवसर गुमाउने उनको भनाइ छ।

क्व्होलासोथार-५ सिङ्दीका घरबास सञ्चालक हुकुमबहादुर गुरुङले केही वर्षअघिसम्म सिङ्दीमा पनि पाँच-छ वटासम्म पानीघट्ट सञ्चालनमा रहेकामा अहिले भने एउटा मात्र पानीघट्ट प्रयोगमा रहेको बताए। सिङ्दी र माथिपश गाउँका स्थानीयलेसमेत यही घट्ट प्रयोग गर्दै आएका छन्। उहाँका अनुसार आधुनिक मिलको सहजता र छिटोछरितो पिसानीका कारण पानीघट्टप्रति स्थानीयको आकर्षण घट्दै गएको हो।

गाउँमा आउने पर्यटकका लागि भने पानीघट्ट अझै चासोको विषय बन्ने गरेको घरबास सञ्चालक गुरुङले बताउनुभयो। “आजको पुस्ताका लागि यस्तो प्रविधि नौलो लाग्छ। गाउँमा आउने पर्यटकलाई पनि यसले आकर्षित गर्छ। त्यसैले पानीघट्टलाई प्रयोगसँगै संरक्षण र पर्यटनसँग जोड्न सके अझ राम्रो हुन्छ”, उनले भने।

पानीघट्टको संरक्षण एउटा पुरानो अन्न पिस्ने साधन जोगाउनु मात्र होइन, पुर्खाले विकास गरेको स्थानीय ज्ञान, सीप र प्रविधिलाई जीवन्त राख्नु पनि रहेको यहाँका ज्येष्ठ नागरिक बताउँछन्। आधुनिकताको विस्तारसँगै हराउँदै गएको पानीघट्टलाई संरक्षण गर्नसके लमजुङको मौलिक गाउँले जीवन र पुख्र्यौली प्रविधिको इतिहास भावी पुस्तासम्म पुर्‍याउन सकिन्छ।

गाउँमा बाँकी रहेका पानीघट्टलाई जीर्ण हुन नदिइ संरक्षण गर्ने, आवश्यक मर्मतसम्भार गर्ने र स्थानीय उत्पादन तथा पर्यटनसँग जोड्ने हो भने लोपोन्मुख अवस्थामा पुगेको यो पुख्र्यौली सम्पदालाई नयाँ पुस्तासम्म पुर्‍याउन सकिन्छ। आधुनिकताको दौडमा हराउँदै गएको पानीघट्ट केबल विगतको सम्झना नभई लमजुङको गाउँले जीवन, पुर्खाको सीप र मौलिक प्रविधिको जीवित दस्तावेज भएकाले यसको संरक्षण आवश्यक देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *