उपसभामुख हटाउने प्रयासको सशक्त विरोध गर्नुपर्ने विपक्षी दलको निष्कर्ष

डिसी नेपाल
३ भदौ २०८२ १६:५१
40
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासलाई विफल तुल्याउन सशक्त विरोध गर्नुपर्ने निष्कर्ष संघीय संसद्का विपक्षी दलहरूको बैठकले निकालेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले सत्तारुढ दलको प्रयासलाई विफत तुल्याउनुपर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षी दलहरूले सशक्त विरोध गर्ने बताएका छन्। उनले विपक्षी दलमाथि भएको आक्रमण विरुद्ध एकतावद्ध हुने बताए। सदनमा पनि यसको सशक्त प्रतिवाद गर्ने उनको भनाइ छ।

यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाको एजेन्डालाई जनतासामू लैजानुपर्ने बताएको छ।

बैठकमा रास्वपा उपसभापति डीपी अर्यालले उक्त प्रस्ताव गरेका थिए। पटक/पटक उपसभामुखको विषयलाई लिएर आफ्नो पार्टीमाथि सत्ताबाट प्रहार भइरहेको उनको दुखेसो थियो।

कांग्रेस–एमालेका सांसदले उपसभामुख रानालाई हटाउनेगरी हस्ताक्षर अभियान चलाएका छन्।

यहीबीच सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले आफ्ना सांसदलाई उपत्यका नछाड्न सूचना पठाएको छ। मंगलबार सांसदहरूलाई मोबाइलमा मेसेज पठाउँदै एमालेले तत्काल उपत्यका बाहिरका कार्यक्रममा नजान निर्देशन दिएको हो।

उपसभामुख रानामगरलाई हटाउने निर्णयमा नेपाली कांग्रेस भने विभाजित भएको छ। मंगलबार पार्टीको संसदीय दलको कार्यालयमा उपसभामुखलाई हटाउने निर्णयमा सांसदहरूलाई हस्ताक्षर गराइएको थियो।

यो निर्णयमा शेखर कोइराला समूहका सांसदहरुले हस्ताक्षर गरेनन्। कोइरालानिकट स्रोतका अनुसार निर्णयमा पार्टीका दुई महामन्त्रीहरू शेखर कोइराला र विश्वप्रकाश शर्माले समेत हस्ताक्षर गरेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *