विद्या भण्डारीको राजनीतिक सक्रियता रोकिँदैन, उहाँलाई एमालेको जनजनले मन पराएको छ : थापा

डिसी नेपाल
७ भदौ २०८२ १७:१२
120
Shares

काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन्। आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमित लिनुपर्ने कुरा नभएको बताए।

उनले भने,‘विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ। हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि लडेर अघि बढेका व्यक्ति हौं, हिजो विद्या भण्डारीले राजनीति गर्दा कहाँ राष्ट्रपति बन्छु भन्ने थियो? राजनीतिक काम गर्दा देश छोड्नुपर्ने हो र? कसैले देश निकाला गर्छ? नागरिकता खोस्न सक्छ कसैले? अनि के हो त?’

आँफैले निर्माण गरेको पार्टी भएकोले एमालेमा विद्या भण्डारीलाई कसैले पनि इन्ट्री दिन नपर्ने थापाको चेतावनी छ। उनले भने,‘उहाँलाई इन्ट्री कसैले दिनुपर्दैन, जनताको बीचमा आफ्ना विषयवस्तु राखेर जाने कुरा हो, यो त उहाँ आाँफैले निर्माण गरेको पार्टी हो, यत्रो ठूलो जनमत छ । उहाँ अहिले एमालेमा हुनुहुन्छ । उहाँ एमालेको नेता हुनुहुन्छ । एमालेको जनजनले मन पराएको छ । पार्टीमा नेता भनेको दुई किसिमका हुन्छन्, एउटा पदका नेता हुन्छन् । अर्को भनेको जनसमर्थनको नेता हुन्छ । पदका नेता थिए, ती मान्छे आज छैनन् । जससँग सही विचार छैन, सही मान्यता छैन । लक्ष्य र उद्देश्यमा हिँड्दैनन् । नीतिमा हिँड्दैन, तीनका पदहरु समाप्त भएर जान्छन् । पदै नभएका मान्छेहरु नयाँ नयाँ प्रकारले उदय हुन्छ्न । त्यो जनताले गर्ने कुरा हो । कार्यकर्ताले गर्ने कुरा हो । विद्या भण्डारीको राजनीतिक सक्रियता निरन्तर रूपमा अघि बढ्छ । जनता र कार्यकर्ताले गर्नुपर्ने फैसला गर्छन् । उहाँको सक्रियता रोकिँदैन् । विद्यान महाधिवेशनमा सबभन्दा महत्वपूर्ण विषय यो विषय प्रवेश गर्छ । सिंगै पँक्ति सही निश्कर्षमा पुग्छ भन्ने मेरो विश्वास छ ।’

उनले विद्या भण्डारीको सदस्यताको बारेमा क–कसले के–के भनेको छ भन्नेबारे आफूले केही पनि टिप्पणी नगर्ने स्पष्ट पारे । उनले भने,‘एमाले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्छ । यसले कसैलाई निषेध गर्दैन् । जन्मसिद्ध अधिकार संकुचन गर्न पाईँदैन भन्ने हो । मान्छेको अधिकारलाई लिपिवद्ध गर्नसक्छ । प्राकृतिक अधिकार सिमित गर्ने वा गर्ने रोक्ने भन्दैन । कुनैपनि नागरिक अधिकारलाई संकुचन गर्ने कुरालाई स्विकार गर्दैन । राणा शासनविरुद्ध लड्न पाईँदैन भन्दापनि जनता लडेर त्यो शासन लडेर अन्त्य गरे । पञ्चायतविरुछपनि लडे । पञ्चायतपनि अन्त्य भयो ।’

जनताको अधिकार, समानता, स्वतनत्रता र न्यायको निम्ति स्थापना भएको एमालेभित्र राजनीति गर्न पाईँदैन भन्ने कुरा अशोभनीय भएको थापाको भनाई छ । उनले भने,‘हाम्रो पार्टीको विधान महाधिवेशन आउँदैछ, अब राष्ट्रिय महाधिवेशन हुँदैछ । हाम्रो पार्टीको हित के गर्दा हुन्छ ? लोकतान्त्रिक अधिकारको रक्षा हुन्छ, सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई मध्यनजर गरेर, जनताको मनोभावना हेरेर हामी छलफल गर्छौं । त्यतिवेलासम्म उपयुक्त निश्कर्षमा पुग्छौं ।’

उनले अहिलेको अवस्थामा कसैलाई अपमान गर्ने, तिरस्कार गर्ने, तेजोवोध गर्ने र लाञ्छना लगाउने प्रकारका काम एमालेको पँक्तिले गर्न नहुने पनि मत राखे । उनले भने,‘केन्द्रीय कमिटीको बैठकको निश्कर्ष पनि त्यही हो । विद्या भण्डारी एमालेको राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने विषयमा हाम्रा केही फरक मत छन् । एमालेको केन्द्रीय कमिटीले एउटा निर्णय गरेको छ । त्यो निर्णय गरिरहँदा पनि विद्या भण्डारीले नेपालको लोकतन्त्रको विकासको निम्ति, गणतन्त्रको रक्षाको निम्ति, लोकतान्त्रिक व्यवस्था स्थापनाको निम्ति धेरै महत्वपूर्ण योगदान गर्नुभएको छ । गणतन्त्रको रक्षाको निम्ति, उहाँको गरिमा, ईज्जत र प्रतिष्ठामा आँच आउनेगरि कुनै प्रकारको अभिव्यक्रि दिनुहुँदैन भन्ने निर्णय पनि गरेको छ । जनताको विश्वास बढ्ने, जनतमा एमालेको सम्मान र इज्जत बढ्ने निर्णय गर्नुपर्छ । जनताको समर्थन घट्ने निर्णय गर्नुहुँदैन । गम्भीर प्रकारका निर्णय गर्दा बलमिच्याईं, आवेग र उत्तेजनामा आएर गर्नुहँदैन । असर र प्रभाव हेरेर गम्भीर प्रकृतिका निर्णय लिने मान्यता लिएको छ ।’

थापाले लिपुलेक, लिम्पियाधुरा नेपालाको भूमि भएको कुरा ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेजले पनि सिद्ध गरेको स्मरण गराए । उनले भने,‘लिपुलेक, लिम्पियाधुराको सन्दर्भमा विभिन्न ऐतिहासिक दस्तावेजले त्यो भूमि नेपालको हो भनेर सिद्ध गरेको छ । आधार र प्रमाण छन् । चीन महाशक्तिको लागि प्रतिष्पर्धा गरिहेको देश हो । भातपनि आर्थिक विकासको गतिमा अघि बढिरहेको छ । दुवै देश छिमेकी हुन् । छिमेकीसँग राम्रो सम्बन्ध कायम गर्ने हाम्रो नीति छ । सहयोग लिने नीति छ । हाम्रो सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई कायम गरेर उहाँहरु अघि ब्ढ्नुपर्छ भन्ने मान्यता छ । भारत र चीन दुवैका हामी विरोधी होईन । न हामी भारतका समर्थक, न चीनका । यी दुवै देश एशियाका उदयमीमान शक्ति हुन् । यो क्षेत्रको विकासको लागि अगुवाई गर्नुहोस । संसारकै महाशक्तिमा विकसित हुनुहुनोस ।’

उनले नेपालले कसैसँगपनि वैरभाव नराख्ने बताए । तर, भारत र चीनले नेपालको भौगोलिक अखण्डताको मान्यतालाई ध्यान नदिएको थापाको गुनासो छ । उनले भने,‘हामी कसैसँगपनि वैरभाव राख्दैनौं । तर, नेपालको भूमिलाई प्रयोग गर्नेगरि भारत र चीनले जो सम्झौता गरेका छन्, नेपालको भौगोलिक अखण्डताको मान्यतालाई उहाँहरुले ध्यान दिनुभएको छैन भन्ने लाग्छ । नेपालको सन्दर्भमा जब भौगोलिक अखण्डता, स्वाभिमानको प्रश्न आउँछ, नेपालका सबै एक भएर रक्षा गर्नुपर्छ । सिंग्गै नेपाल र जनता, पार्टी एक भएर अघि बढ्नुपर्छ । यस्तो विषयमा आवेग, उत्तेजनामा आएर अघि बढाउनुहुँदैन । दुवै देशसँग कुटनीतिक पहल गर्नुपर्छ । कुटनीतिक नोट पठाउनुपर्छ । लिपुलेक, लिम्पियाधुराको समस्या समाधान कुटनीतिक माधयमबाट गर्नुपर्छ ।’

लिपुलेक, लिम्पियाधुरालाई नेपालको राजनीतिक नक्शामा प्रकाशान गर्दा सिंगो देश र जनता एक भएको पनि थापाले स्मरण गराए । प्रधानमन्त्री ओलीको आसन्न चीन र भारत भ्रमणको क्रममा यो विषय स्पष्टताका साथ उठाउन थापाको सुझाव छ । उनले भने,‘अहिले प्रधानमन्त्री भारत र चीन भ्रमणमा जाँदै हुनुहुन्छ । पार्टी र नागरिकका हिसाबले म प्रधानमन्त्रीलाई दुवै देशसँग आफ्नो भौगोलिक अखण्डता, स्वाभिमानको बारेमा कुनै हिचकिचाहटबिना देशको स्पष्ट मान्यता राख्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु । डर, त्रासमा परेर होईन राष्ट्रको प्रतिनिधित्व गरेर नेपालको भौगोलिक अखण्डता र स्वाभिमानको निम्ति स्पष्ट कुरा राख्नुपर्छ ।’

सो क्रममा उनले गौर घट्नाको सन्दर्भमा सर्वोच्च अदालतले दिएको परमादेशको विषयमा बोल्दै यो विषयमा यसअघिका आयोगले तयार पारेका प्रतिवेदन सार्वजनिक हुनुपर्ने बताए । उनले यो घट्नामा दोषीहरु दण्डित हुनुपर्ने मत राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.