नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नकारात्मक मानसिकताले निराशा पैदा गर्ने हुँदा हीनभावले ग्रसित नहुन आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन्।
‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश हुने मानिसहरु कम्युनिष्ट पार्टी नै परित्याग गरेर हिड्ने भन्दै आशावादी हुन आग्रह गरेका हुन्।
उनले भने, ‘जहिले पनि यो नकारात्मक मानसिकताका साथ हीनभावले ग्रसित भएर अघि बढ्ने काम नगर्नुस्। त्यस्ताहरुले पार लगाउँदैनन्। त्यस्ता निराशहरु पलायन हुन्छन्। संयोजन गर्ने मानिसहरु निराश बनाउने पनि छन् र आशावादीहरु पनि छन्। कम्युनिष्ट पार्टीनै परित्याग गरेर हिड्नेहरु पनि छन्।’
उनले कोही निराशावादीले कम्युनिष्ट पार्टी नै हुँदैन भन्ने भ्रम समेत बाँडेको भन्दै आशावादी भएर अगाडि बढ्न सकिने बताए।
उनले पार्टीभित्र सकारात्मक सन्देशमात्र दिने काम गर्नुपर्ने भन्दै पार्टी कमिटीभित्रको कुरा आन्तरिक मामिला बनाउनुपर्ने बताए।
‘हाम्रो पार्टीका नेता कार्यकर्ताले जहिले पनि मासमा सकारात्मक सन्देश दिनुपर्छ। पार्टी कमिटिभित्र बसेर सबै कुराहरु छलफल गर्न पाइन्छ। त्यो पार्टीभित्रको आन्तरिक मामिला बनाउनुपर्छ। पार्टीभित्र बसेर छलफल गर्न सकिन्छ,’ उनले भने।
उनले अनुशासनहीन मानिसलाई छुट दिन नसकिने भन्दै पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु फरक कुरा भएको बताए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment