सुदूरपश्चिम गौरा महोत्सवमा नौ श्रष्टा सम्मानित
धनगढी । गौरा पर्वको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आएको सुदूरपश्चिम गौरा महोत्सव यस वर्ष पनि सञ्चालन गरिएको छ। डेउडा प्रतिष्ठानको आयोजनामा विगत १० वर्षदेखि धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव हुँदै आएको हो।
सुदूरपश्चिम गौरा महोत्सव २०८२ को सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाले उद्घाटन गरेका थिए। डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सुरत बहादुर रावत डोटेली कान्छाको सभापतित्वमा सुरु भएको महोत्सव काली-कर्णालीको पहिचानको रुपमा रहेको डेउडालाई देशविदेशमा प्रचारप्रसारसँगै यस क्षेत्रको पर्यटन प्रबर्द्धन र भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा रहनसहनको प्रचारप्रसार एवं युवा पुस्तालाई लोकसंस्कृतिको जगेर्नामा उत्साहित गर्नुका साथै पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको संस्थाका महासचिव तोयनाथ भट्टले बताए।
सुदूरपश्चिम गौरा महोत्सवमा डेउडा प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ। कला संस्कृतितर्फको सम्मान अछामका संस्कृतिकर्मी साहित्यकार पदमबहादुर धामी, स्वास्थ्य सेवा तर्फको सम्मान धनगढीका डाक्टर मेराज आलम अन्सारी, शिक्षा सेवातर्फको सम्मान डोटी शिखर नगरपालिकाका जगन्नाथ जोशी र समाजसेवातर्फको सम्मान दृष्टि फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टलाई प्रदान गरिएको हो। उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रमुख मियाले सम्मान पत्रसहित दोसल्ला ओडाई सम्मानित गरेका थिए।

त्यस्तै चल्ले सैइ श्रुति सम्मान खगेन्द्रराज अवस्थी कैलाली, परिमल स्नेही समता सम्मान कमला सिंह मुस्कान दार्चुला, महाशंकर देवकोटा वाङमय सम्मान बासुदेव पाण्डेय डडेल्धुरा, हरिश्चन्द्र कडायत साधना सम्मान संगीता शाह बाजुरा, दलबहादुर बोगटी लोकप्रतिभा सम्मान भिम अधिकारी डोटीलाई प्रदान गरिएको छ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न झाँकी चैत, धुमारी, गौरा नाच, शिव पार्वती गणेश झाँकी, रनपुतला डेउडा प्रस्तुतिलगायत प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा बरिष्ठ डेउडा गायक केशबराज फुलाराको गीत बिमोचन पनि गरिएको थियो।







डिसी नेपाल








Facebook Comment