लहानमा आमा र छोरा मृत फेला, नौ महिने शिशु अचेत अवस्थामा

डिसी नेपाल
१७ भदौ २०८२ २०:१७
180
Shares

सिरहा। यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन्।

लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन्। रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा भने अचेत अवस्थामा भेटिएको र उपचारका लागि प्रादेशिक अस्पताल, लहानमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट रञ्जिताले आफ्ना दुई छोरालाई विष सेवन गराई आफूले आत्महत्या गरेको आशंका छ। उनले भने, ‘शवको अवस्था हेर्दा विष सेवनपछि रञ्जिताले आत्महत्या गरेजस्तो देखिन्छ। यद्यपि, थप अनुसन्धान र परीक्षणपछि मात्रै घटनाको यथार्थ स्पष्ट हुनेछ।’

स्थानीय बासिन्दाका अनुसार केही दिनदेखि उक्त घरमा चहलपहल नदेखिएपछि खुला रहेको झ्यालबाट भित्र हेर्दा रञ्जिता झुन्डिएको अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरिएको थियो। मृतक रञ्जिताको श्रीमान् प्रवीण चौधरी भने पछिल्ला तीन/चार दिनदेखि डेरामा नदेखिएका स्थानीयको भनाइ छ। उनी हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीका अनुसार प्रवीण र रञ्जिता विगत दुई वर्षदेखि लहान बजारमा डेरामा बस्दै आएका थिए। प्रवीणले दैनिक मजदुरी गर्दै आएका थिए।

शवबाट दुर्गन्ध आउन थालेकाले घटना केही दिनअघि घटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.