निजामती सेवा स्थायी सरकार हो, तर अहिले चेपुवामा छ : शंकरप्रसाद कोइराला

डिसी नेपाल
२१ भदौ २०८२ १७:१९
24
Shares

काठमाडौं । पूर्वमन्त्री तथा पूर्वसचिव शंकरप्रसाद कोइरालाले निजामती सेवा राष्ट्रको स्थायी सरकार र कार्यान्वयनतन्त्र भएको बताएका छन्।

निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी प्रणाली कुनै सत्ताको भाग होइन, कार्यान्वयनको आधार स्तम्भ भएको स्पष्ट पारे।

‘निजामती सेवा भनेको राज्यको एउटा स्थायी सरकार र कार्यान्वयन तन्त्र हो,’ कोइरालाले भने, ‘जस्तोसुकै कठिन परिस्थिति आएपनि निजामती कर्मचारी देश र जनताको सेवामा निरन्तर खटिइरहेका छन्।’

उनले मुलुकमा भइरहेका आरोहअवरोहका बीचमा पनि निजामती सेवाले देशलाई जोगाउँदै ल्याएको उल्लेख गरे। तथापि, हाल निजामती सेवा राजनीतिक तह र आम नागरिक तह दुवैतर्फबाट ‘चेपमा परेको’ अवस्थामा रहेको कोइरालाको भनाइ थियो।

‘मुख्य कुरा के हो भने, राजनीतिक तहबाट पनि र जनताको तहबाट पनि यो निजामती सेवा चेपमा परेको अवस्था छ,’ उनले भने, ‘हाम्रो सार्वजनिक छवि सुधार गर्न जरुरी छ।’

संघीय निजामती सेवा ऐन अझै कार्यान्वयनमा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले चाँडै ऐन लागू हुनेमा आफू आशावादी रहेको पनि बताए।

उक्त कार्यक्रममा कर्मचारीको दायित्व झल्काउने विशेष प्रदर्शनीसहित विविध सांस्कृतिक प्रस्तुतीहरू पनि प्रस्तुत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *