काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्त्वपूर्ण पक्षमा फरक हुँदैछ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ।

यसपटक कांग्रेस महाधिवेशनमा देखिने प्रमुख १८ नयाँ पक्ष यसप्रकार छन् :

१. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्व : यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्मै युवाको सहभागिता बढाउने गरी विधानमै स्पष्ट व्यवस्था गरिएको छ।

२. केन्द्रमा २१ युवा सदस्य : केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन्। प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था मिलाइएको छ।

३. महिलाका लागि कम्तीमा एकतिहाइ प्रतिनिधित्व : कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एकतिहाइ सुनिश्चित गरिएको छ । यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता उल्लेख्य रूपमा बढाउने लक्ष्य राखेको छ।

४. सहमहामन्त्रीको संख्या ११ पुग्यो : यसपटक कांग्रेसमा सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ। समावेशी समूहबाट निर्वाचित हुने तथा सभापतिबाट मनोनीत हुने गरी यो व्यवस्था गरिएको हो।

५. ‘ल्याटरल इन्ट्री’को सुरुवात : राजनीतिमा लामो समयदेखि सक्रिय कार्यकर्ताका साथै विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पार्टीको मूल नेतृत्वमा ल्याउने बाटो खोलिएको छ। यसै व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

६. विदेशस्थित नेपालीको केन्द्रीय प्रतिनिधित्व : नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिहरूबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । यसले प्रवासमा रहेका कांग्रेससम्बद्ध नेपालीलाई केन्द्रीय संरचनामा औपचारिक स्थान दिनेछ।

७. समावेशी प्रतिनिधित्व थप फराकिलो : अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व केन्द्रीय समितिमा सुनिश्चित गरिएको छ । साथै श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितहरूको प्रतिनिधित्वसमेत ग्यारेन्टी गरिएको छ।

८. २३२ सदस्यीय केन्द्रीय संरचना : नयाँ विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय बन्नेछ। जसमा १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुनेछन्।

९. प्यानल नबनाउने घोषणा : यसपटक नेतृत्व चयनका क्रममा विगतजस्तो औपचारिक प्यानल बनाएर निर्वाचनमा जाने अभ्यास नगरिने जनाइएको छ । प्रतिनिधिहरूले उम्मेदवार छनोटमा आफ्नो स्वविवेक प्रयोग गर्ने अपेक्षा गरिएको छ।

१०. प्रदेशगत समूहमा बन्दसत्र : करिब सात हजार प्रतिनिधिलाई एउटै हलमा राखेर छलफल गराउनुको साटो छुट्टाछुट्टै समूह बनाएर राजनीतिक, सांगठनिक तथा नीतिगत दस्तावेजमाथि गहन छलफल गराउने तयारी छ।

११. तीनवटा संरचनामा बन्दसत्र : खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई मधेस’ नामकरण गरिएका तीनवटा ठूला संरचना तयार गरिएको छ । ठूलो संख्याका प्रतिनिधिलाई व्यवस्थित तरिकाले सहभागी गराउन यो कदम चालिएको हो।

१२. प्रतिवेदन डिजिटल रूपमा उपलब्ध : महाधिवेशनका राजनीतिक तथा सांगठनिक दस्तावेज डिजिटल माध्यमबाट पनि उपलब्ध गराइनेछ । यसले कागजी दस्तावेजमाथिको निर्भरता ह्वात्तै घटाउनेछ।

१३. छलफलको अभिलेख राखिने : महाधिवेशनमा प्रतिनिधिले राखेका धारणा, सुझाव तथा बहसलाई व्यवस्थित रूपमा अभिलेख गरी अन्तिम दस्तावेजमा समेटिनेछ।

१४. परम्परागत मतदान प्रणालीमै जाने : विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरिए पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतपत्रमार्फत नै मतदान गराइने भएको छ।

१५. प्रचारशैलीमा व्यापक परिवर्तन : काठमाडौँका सडकमा ठूला गेट, होर्डिङ बोर्ड, तोरण र अत्यधिक झण्डा राख्ने शैलीलाई निरुत्साहित गरिएको छ। उम्मेदवारहरूलाई डिजिटल माध्यमबाट प्रचार गर्न जोड दिइएको छ भने पर्चा छाप्न र मतदानस्थलमा वितरण गर्न रोक लगाइएको छ।

१६. उद्घाटन र बन्दसत्र खुलामञ्चमै : १५औँ महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै काठमाडौँको खुलामञ्चमै गर्ने गरी संरचना निर्माण गरिएको छ।

१७. भड्किलो प्रचारमा रोक : देशले बेहोरेको प्राकृतिक विपद्को पृष्ठभूमिमा महाधिवेशनलाई भड्किलो र खर्चिलो नबनाउने नीति लिइएको छ। सहर सजावट र प्रचार सामग्रीलाई नियन्त्रित र सीमित पारिएको छ ।

१८. ‘कांग्रेस २.०’ को बहस : नेतृत्व चयनका साथै पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे गहन बहसलाई प्राथमिकता दिइएको छ । ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ जस्ता नारामार्फत पार्टीलाई रूपान्तरणको सन्देश दिने प्रयास गरिएको छ।

यी समग्र परिवर्तनले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी संगठनको संरचना, प्रतिनिधित्व, वैचारिक बहस र कार्यशैलीमै नयाँ गति दिने अपेक्षा गरिएको छ।