सुरक्षाको प्रत्याभूति भएपछि मात्र यातायात सेवा दिन निर्देशन

डिसी नेपाल
२४ भदौ २०८२ १६:४७
168
Shares

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शान्ती सुरक्षाको प्रत्याभूति भए पश्चात् मात्र यातायात सेवा दिन निर्देशन दिएको छ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै सोमबार ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आन्दोलन झन् चर्किएको भन्दै सहज वातावरण नभएसम्म यातायात सेवा सञ्चालन नगर्न यातायात व्यवसायीलाई निर्देशन दिएको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको तथा काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा सवारी साधन सञ्चालन नगर्न आग्रह गरे।

‘सोमबार भएको दुःखद् घटनाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भई नेपाल सरकारबाट विभिन्न स्थानमा कफ्र्यू आदेश भएको हुँदा उपत्यकासहित देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधन सञ्चालन गर्न असहज परिस्थिति सिर्जना भएको छ,’ उनले भने, ‘सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यकासहित देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेका छौँ।’

महासंघले सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। घाइतेको उपचार गर्न महासंघले सरकारसँग माग गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.