संविधानभित्रै निकास खोजिनुपर्छ : नैनसिंह महर

डिसी नेपाल
२५ भदौ २०८२ १२:५२
36
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ भई अराजकता फैलिएको बताएका छन्। उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन्।

जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ। ‘यस क्रममा दर्जनौंले ज्यान गुमाएका छन् भने खर्बौंको धनसम्पत्ति नष्ट भएको छ,’ महरले भने।

सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरे। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको उनले बताए।

‘लोकतन्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ।’

थप निकासका लागि राष्ट्रपतिले सरोकारवाला विभिन्न पक्षसँग वार्ता र समन्वय गरिरहेको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको अगुवाइमा सुरक्षा संयन्त्रले प्रधान भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे।

‘यस कठिन घडीमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न, एकताबद्ध भई एक अर्काको साथ दिन र सुरक्षित रहनका लागि विशेष आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो राष्ट्रिय एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो र यसले नै हामीलाई हरेक संकटबाट पार लगाउन सक्छ।’

उनले निषेधाज्ञा तथा कर्फ्युमा एम्बुलेन्स, शव वाहन, दमकल, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनजस्ता अत्यावश्यक सेवालाई सहजता प्रदान गर्नसमेत आग्रह गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *