अबको संवाद शीतल निवासबाट थालियोस्: कांग्रेस नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले संवादको थालनी गर्नुपर्ने र राजनीतिक दलहरूले अविलम्ब सर्वदलीय बैठक बोलाउनुपर्नेमा जोड दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिन ढिलाइ गर्न नहुने धारणा सार्वजनिक गरेका हुन्।
नेता महरले राष्ट्रपतिले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्दै संवैधानिक निकासका लागि विचार-विमर्श गरिरहेको भनी लिखित विज्ञप्ति जारी गरिसकेको सन्दर्भ उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘अब, भौतिक सम्बोधन र अन्य राजनीतिक संवाद आधा भाग खरानी भएको भए पनि राष्ट्रपति कार्यालय शीतल निवासबाटै सुरु हुनुपर्छ।‘
त्यसैगरी, महरले राजनीतिक दलहरूले संकटको घडीमा समेत पार्टीगत वा सर्वदलीय बैठक आयोजना गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्। ‘अहिलेसम्म राजनीतिक दलहरूको पार्टीगत र सर्वदलीय बैठकको कोसिस भएको देखिएन,‘ उनले भने, ‘जिम्मेवार पदाधिकारीहरूले यसमा विलम्ब नगरी सर्वदलीय आधिकारिक धारणासहित अबको रोडम्याप ल्याउनु जरुरी देखियो।‘
नेता महरले संविधान रक्षा र संवैधानिक सर्वोच्चताका पक्षमा सबै दलका नेता मध्ये सबैभन्दा पहिले वकालत गरेका थिए।







डिसी नेपाल







Facebook Comment