जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३४ पुग्यो

डिसी नेपाल
२६ भदौ २०८२ १८:०४
104
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरूको उपचार भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा ८, निजामती कर्मचारी अस्पतालमा ६, एभरेष्ट अस्पतालमा ३, काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ। त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ।

हाल आन्दोलनका क्रममा घाइते भएका निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौं मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। अन्य ९४९ जना उपचारपश्चात् घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *