‘राजनीतिक दलहरुलाई समेत सामेल गरेर तत्काल राष्ट्रिय सरकार बन्नुपर्छ’

डिसी नेपाल
२६ भदौ २०८२ २०:१६
240
Shares

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले जेनजी आन्दोलनकारीहरूका पूर्वघोषित योजना र भावना विपरीत केही स्वार्थ समूहबाट गरिएको अराजक गतिविधि भएको ठहर गरेको छ।

त्यस प्रकारका घटनाको निन्दा तथा भत्र्सना गर्दै यस यस प्रकारको घटनाबाट मुलुकलाई समृद्धिका दृष्टिले दशकौं पछाडि धकेल्ने कार्य भएको ट्रेड युनियन कांग्रेसको ठहर छ।

विहीबार ट्रेड युनियन कांग्रेस महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै यस प्रकारका सबै घटनाहरुको साथै जेनजी समुहले उठाएको भ्रष्टाचार निरुपणका खातिर पनि उच्च स्तरीय न्यायीक समिति छानबिन गरी दोषीहरु माथि कडा भन्दा कडा कारबाही गर्न अब बन्ने सरकारसँग जोडदार माग गरेको छ।

प्रेस विज्ञप्ति

नेपालमा भ्रष्टाचार, कुशासन, दण्डहिनता एवं सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका विरुद्धमा Gen Z ले सुरु गरेको आन्दोलनको क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने युवाहरूप्रति नेपाल ट्रेड युनियन कांग्रेस भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सम्बन्धित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। साथै आन्दोलनको क्रममा घाइते हुनुभएका सम्पूर्ण महानुभावहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।

यही २०८२ भाद्र २३ गते सोमबारका दिन शान्तिपूर्ण आन्दोलनका माध्यमबाट आफ्नो माग पूरा गराउने उद्देश्यका साथ प्रारम्भ भएको विरोधको कार्यक्रममा सरकारको असावधानी एवं कमजोरीका कारण नरसंहारमा परिणत हुन पुग्यो र अहिले सम्म ३१ जना युवाहरूले ज्यान गुमाउन पुगे। सयौँ युवाहरू घाइते भई अझै अस्पतालमा उपचाररत रहेका छन्। उक्त मानवीय क्षतिको आक्रोशका कारण भाद्र २४ गते मुलुकभर Gen Zहरुको आक्रोशपूर्ण आन्दोलनमा अराजक समूह समेतको घुसपैठबाट मुलुकका ऐतिहासिक, प्रमुख प्रशासनिक, व्यापारिक तथा राजनीतिक दलका भवनहरूमा क्षणभरमै लूटपाट र आगजनी भई ध्वस्त बन्न पुगे।

काठमाण्डौँ उपत्यका एवं बाहिरका अधिकांश सहर एवं जिल्लाहरूका समेत प्रशासनिक एवं सुरक्षा निकाय, व्यापारिक, संघ संस्था तथा निजी भवनहरू साथै व्यक्तिगत सम्पत्ति माथि आगजनी र लुटपाट गरिए। यसबाट मुलुकले खर्बौंको क्षति मात्र व्यहोरेन, ती लोकतान्त्रिक संस्था एवं भवनहरूमा रहेका ऐतिहासिक, बहुमूल्य एवं दुर्लभ अभिलेख, दस्तावेजहरू कागजातहरू जलेर खरानीमा परिणत भए भने अर्को तर्फ सयौँ सरकारी पदाधिकारी एवं सामाजिक तथा राजनीतिक पदाधिकारीहरूका निजी भवनहरूमा आगजनी एवं लुटपाट गरी धनसम्पत्ति एवं अमूल्य कागजातहरू नष्ट गरियो।

त्यति मात्र नभई, नेपाली कांग्रेसका संस्थापक नेता महामानव बीपी कोइरालाको ११२ औँ जन्मदिनकै दिनमा उहाँको जन्मघर विराटनगर स्थित ऐतिहासिक लोकतान्त्रिक भवन कोईराला निवास जलाइयो, साथै नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवा लगायत राजनैतिक व्यक्तित्वहरु माथि आक्रमण गरियो, राजनीतिक दलका कैयौँ नेता कार्यकर्ताहरुलाई निशानामा पारियो।

यस किसिमका गतिविधिहरू Gen Z आन्दोलनकारीहरूका पूर्वघोषित योजना र भावना विपरीत केही स्वार्थ समूहबाट गरिएको अराजक गतिविधि हो भन्ने नेपाल ट्रेड युनियन कांग्रेसको बुझाई रहेको छ । त्यस प्रकारका घटनाको निन्दा तथा भत्र्सना पनि गर्न चाहन्छौ । यस यस प्रकारको घटनाबाट मुलुकलाई समृद्धिका दृष्टिले दशकौं पछाडि धकेल्ने कार्य भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस यस प्रकारका सबै घटनाहरुको साथै Gen Z समुहले उठाएको भ्रष्टाचार निरुपणका खातिर पनि उच्च स्तरीय न्यायीक समिती छानबिन गरी दोषीहरु माथि कडा भन्दा कडा कारबाही गर्न अब बन्ने सरकारसँग जोडदार माग गर्दछ।

यस प्रकारको घटना र परिवेशले मुलुकलाई अत्यन्तै तरल अवस्थामा पुर्‍याएको छ र तत्काल राजनीतिक निकास हुने विषयमा अन्यौलता समेत सिर्जना भएको छ । तसर्थ, नेपाल ट्रेड युनियन कांग्रेस श्रमिकहरूको एक जिम्मेवार ऐतिहासिक संगठनका हैसियतले यस किसिमको संवेदनशील अवस्थालाई यथास्थितिमा रहन नदिई शान्तिपूर्ण समाधानका लागि संवैधानिक लोकतान्त्रिक विधि र पद्धतिमा टेकेर राजनीतिक एवं न्यायोचित प्रक्रिया र संवादका माध्यमबाट नयाँ युवा पुस्ताले उठाएको संरचनागत सुधारका मागहरू समेत उचित ढंगले सम्बोधन हुने गरी तत्काल निकासको ढोका खोल्न र लोकतन्त्रको संस्थागत विकास एवं वर्तमान संविधानको रक्षार्थ संवैधानिक प्रक्रिया अनुसार सम्माननीय राष्ट्रपतिज्यूबाट राजनीतिक दलहरूको नेतृत्वमा राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिज्यू समक्ष अनुरोध गर्दै यस कार्यमा आवश्यक सहजीकरण गर्न मुलुकको जिम्मेवार निकाय एवं वर्तमान सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।

अन्त्यमा, नेपाल ट्रेड युनियन कांग्रेस यस प्रक्रियामा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन र संघीय लोकतान्त्रिक प्रणालीको रक्षाका निम्ति सदैव प्रतिबद्ध रहेको साथै यस विषम परिस्थितीमा सबै पक्षलाई धैर्य एवं संयमता अपनाउन समेत अपिल गर्दछ।

धन्यवाद। जय नेपाल।

अजय कुमार राई
महासचिव

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *